भक्तपुर जिल्ला:पर्यटन पुर्वाधार, चार नगरपालिकाको समृद्धि आधार

विचार समाचार
0Shares

प्रकाश खड्का
भक्तपुर पुगेका अधिकतम पर्यटकहरुको यात्रा सामान्यतया एउटै गन्तव्यको अवलोकनमा सीमित भएको छ । भक्तपुर सहरको दरवार क्षेत्र घुम्ने, केहि सास्कृतिक सम्पदा अवलोकन गर्ने प्रसिद्ध जँजुधौको स्वाद लिई पर्यटकहरु साँझपख काठमाडौं फर्कने एउटा दैनिकि नै स्थापित भएको देखिन्छ । विश्व सम्पदा सूचिमा सुचिकृत ऐतिहासिक सहर भक्तपुरको आकर्षणले पर्यटकलाई यहाँसम्म त ल्याउछ तर त्यसपछिका सम्भावनाहरु प्रायः अवलोकनका दृष्टिले उपयोगविहिन नै रहेका छन् । भक्तपुर जिल्ला भित्र प्राचिन मन्दिर, ऐतिहासिक अभिलेख, मनोरम पहाडी प्राकृतिक दृष्य, धार्मिक आस्था केन्द्र लगायत मौलिक ग्रामिण संस्कृति रहेका अनेकौं गन्तव्यहरु छन् यि गन्तव्यहरुलाई योजनावद्ध रुपमा भौतिक तथा नीतिगत योजना निर्माण गर्न सकियो भने यो जिल्ला एकदिने घुम्ने सहर होईन वरु तीन देखि चार दिनसम्म अनुभव गर्नुपर्ने समृद्ध पर्यटकिय क्षेत्र वन्न सक्छ ।
सांस्कृतिक तथा ऐतिहासिक सम्पदाले समृद्ध नेपालका अन्य जिल्ला मध्ये भक्तपुर विशेष पहिचान वोकेको स्थान हो । प्राचिन दरवार क्षेत्र, मठमन्दिरहरु, मौलिक नेवारी संस्कृत, परम्परागत जिवनशैली तथा प्राकृतिक दृष्यावलोकनका प्रचुर सम्भावनाका कारण यहाँ स्वदेशी तथा विदेशी पर्यटकहरुको आकर्षण निरन्तर वढ्दो छ । तर विद्यमान अवस्थालाई मध्यनजर गर्ने हो भने अधिकांश पर्यटकहरु ऐतिहासिक नगरी भक्तपुर मै सिमित भई फर्कने प्रवृत्ति छ । तर यस जिल्ला भित्र रहेका अन्य महत्वपूर्ण सांस्कृतिक, धार्मिक एवं प्राकृतिक सम्पदाहरुको पर्यटन सम्भावनालाई अधिकतम हिसावले उपयोग गर्न नसकेको अवस्था छ ।
भक्तपुरको पर्यटनलाई दीर्घकालिन विस्तार र पर्यटकको वसाई अवधि वढाउन जिल्ला भित्र भएका विविध, गन्तव्यहरुको एकिकृत पर्यटकीय अवधारणामा रुपान्तरण गरी जोड्न आवश्यक छ । यसका लागि जिल्लाका भित्रका प्रचलित ऐतिहासिक, धार्मिक र प्राकृतिक सम्पदालाई समेटेर व्यवस्थित पर्यटन मार्ग निर्माण गर्न सकिने अवस्था सृजना गर्दा भक्तपुर सहर मात्र होईन भक्तपुर जिल्लालाई नै वहुदिने पर्यटक गन्तव्यको रुपमा विकास गरी पर्यटनवाट प्राप्त आम्दानीलाई जिल्लाका विभिन्न क्षेत्रहरुमा वितरण गर्ने समान अवसरको सुरुवात हुनसक्छ ।
यस अवधारणामा आधारित हुदै, पर्यटन यात्रा ऐतिहासिक नगर भक्तपुरवाट सुरु गर्न सकिन्छ । मल्लकालिन वास्तुकला, दरवार चोक तथा जिवन्त सास्कृतिक परम्पराको धनि यो नगर आफैमा एक खुल्ला संग्रहालय पनि हो । यहाँका यि पर्यटकीय स्थानहरुले पर्यटकलाई विशिष्ट अनुभव प्रदान गर्न सक्षम छन् । यहि नगरसम्म पर्यटकहरु सिमित रहँदा सम्म पर्यटकहरुको वसाई छोटो र पर्यटन क्षेत्रवाट हुने आम्दानी पनि सीमित क्षेत्रमै मात्र केन्द्रित रहेको देखिन्छ । तसर्थ भक्तपुर नगरपछि पर्यटन मार्गलाई मध्यपुर थिमितर्फ विस्तार गर्न सकिन्छ । थिमि क्षेत्र एउटा यस्तो पर्यटकिय क्षेत्र हो जहाँ परम्परागत माटोका भाडा वनाउने कला, सांस्कृतिक उत्सव र मौलिक नेवारी जिवनशैलीको अनुपम अनुभव पाईन्छ । यहाँका एउटा समुदायले पुस्तौदेखि जोगाईराखेको माटोका भाँडा वनाउने परम्परा र सीप आफैमा पर्यटकको आकर्षण वढाउने धरोहर हो । साथसाथै यहाँको स्थानिय साँस्कृतिक पर्व र परम्परागत व्यञ्जनले व्यवस्थित गरिएको भोजनले समेत पर्यटकको ध्यान खिच्न सक्षम छ । यसपछि पर्यटकलाई चाँगुनारायण मन्दिरतर्फ लैजान सकिन्छ । नेपालको सवैभन्दा पुरानो मानिने लिच्छवीकालिन प्रसिद्ध यो मन्दिरले दृष्यात्मक अवलोकन मात्र होईन नेपालको प्राचिन इतिहास, अभिलेख, मूतिकला तथा वास्तुकलाको अद्धितिय नमूना पर्दशन गर्दछ । यहाँका अभिलेखहरु नेपाली इतिहास अध्ययन, अनुसन्धानका लागि महत्वपूर्ण सावित छन् । यस क्षेत्रलाई धार्मिक पर्यटनसंगै सास्कृतिक अध्ययन तथा ऐतिहासिक अवलोकन केन्द्रको रुपमा विकास गर्न सकिन्छ । यसपछि पर्यटन यात्रा प्राकृतिक सौन्दर्यले भरिपूर्ण नगरकोटतर्फ अगाडि वढ्न सक्छ । नगरकोटवाट देखिने हिमालय श्रृंखला, सूर्योदय तथा सुर्यास्तको अनुभवले पयटकलाई साच्चै अदभुत वनाउछ । विगतका लामो समय देखि नगरकोट विदेशी पर्यटकको र हालका केहि समय देखि आन्तरिक पर्यटकको पनि आकर्षण केन्द्र रहदै आएको छ । यति हुदाँ हुदै पनि नगरकोट आसपासका ग्रामिण तथा ऐतिहासिक क्षेत्र पर्यटकीय दृष्टिकोणले छायाँमा परेका छन् त्यसैले यि आसपासका ग्रामिण तथा ऐतिहासिक क्षेत्रहरुलाई जोड्न सके पर्यटनको सम्भावनालाई अझ व्यापक र विस्तार गर्न सकिन्छ । नगरकोट देखि ताथली क्षेत्रसम्मको पदमार्ग प्राकृतिक दृष्यावलोकनका लागि अत्यन्त उपयुक्त छ । ताथली क्षेत्रमा संरक्षित प्राचिन चट्टान अभिलेखले ऐतिहासिक महत्व वोकेको छ । त्यसपछिको पदमार्ग काक्रावारी क्षेत्र हुदै धार्मिक महत्व वोकेको डोलेश्वर महादेव मन्दिर पु¥याउन सकिन्छ, यो महादेव मन्दिर भारतको श्री केदारनाथ संग सम्वन्धित मान्यता र केदारनाथको सीर डोलेश्वर महादेवको रुपमा उत्पत्ती भएको कारण यहाँ धार्मिक आस्था र महत्वका आधारमा पर्यटकको आगमन संख्यात्मक रुपमा वढ्न सक्ने सम्भावना छ । डोलेश्वरवाट रानीकोट सम्मको क्षेत्र ऐतिहासिक र प्राकृृतिक दुवै दृष्टिकोणले महत्वपूर्ण रहेका छन् । पहाडको टाकुरामा रहेको रानीकोट क्षेत्रवाट देखिने समग्र काठमाडौं खाल्डोको अवलोकन अत्यन्त आकर्षक भएकोले यहाँ व्यवस्थित विश्राम तथा दृष्यावलोकन स्थल तथा पदमार्गको विकास र विस्तार गर्न सके यो क्षेत्र पर्यटकका लागि अतुलनिय एंव महत्वपूर्ण गन्तव्य वन्न सक्छ ।
जिल्लाको भक्तपुर – थिमि –चागँुनारायण –नगरकोट –ताथली –काक्रावारी –जलेश्वर –रानीकोट जोड्ने पर्यटन पदमार्ग सम्भव भए अझ साइकल लेन, सूचना केन्द्र तथा विश्राम स्थलहरु निर्माण गरी पर्यटकका लागि तीन देखि चार दिनको पर्यटन प्याकेज सहज रुपमा विकास गर्न सकिन्छ । यस किसिमको विकास नमुनाले सार्थकता पाएमा स्थानिय उत्पादन, हस्तकला, कृषि उत्पादन तथा सांस्कृतिक गतिविधिहरुलाई पनि पर्यटन पूर्वाधारमा स्थानिय अर्थतन्त्रलाई सुदृढ वनाउन मद्धत पु¥याउने आशा गर्न सकिन्छ । रोजगारीको क्षेत्रमा विशेषत युवा रोजगारीको अवसर प्राप्त हुनेछ ।
यस सन्दर्भमा भक्तपुरको पर्यटन विकास र विस्तारलाई साँच्चै उत्पादनमुखी, क्षेत्रगत चिनारी र लोकप्रियतालाई स्थापित गराउने हो भने भक्तपुर नगर भित्रका पर्यटकिय स्थलहरुलाई ऐतिहासिक सहरको रुपमा मात्र सीमित नराखी समग्र जिल्लाको पर्यटकीय सम्भावनालाई सम्वोधन गर्नुपर्छ । यसका लागि दुरदर्शी योजना, नीतिगत सहकार्य र चारवटै नगरपालिकाहरुको संयुक्त सहभागितालाई जोड्न सकियो भने भक्तपुर पुरै जिल्लाले नेपालको पर्यटन विकासमा नयाँ मार्गचित्र प्रस्तुत गर्न सक्षम हुनेछ र यसको पर्यटकीय मोडल मुलुकका अन्य जिल्लाहरुले समेत अवलम्वन गर्नेछन् ।
अन्त्यमा, यस प्रकारको वहुदिने वा वहुदिवसिय पर्यटन अवधारणा कार्यान्वयन हुँदा भक्तपुर जिल्लाका चारवटै नगरपालिका भक्तपुर नगरपालिका, मध्यपुर थिमि नगरपालिका, सूर्यविनायक नगरपालिका र चागुँनारायण नगरपालिका वीच पर्यटन आम्दानीको सन्तुलित वितरण सम्भव वन्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *