रामहरि चौलागाईं/ भक्तपुर। भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बजारमा ग्यासको कालोबजारी भएको फेला परेमा तत्काल कारबाही गर्ने बताएका छन्।
आइतबार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा राष्ट्रिय उपभोक्ता मञ्च भक्तपुरले प्रेस सोसाइटीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सिडिओ ढकालले बजारमा खाना पकाउने ग्यासको आपूर्ति प्रशस्त रहेको बताउँदै कसैले कालोबजारी गरेमा कारबाही गरिने बताएका हुन्।
उनले भने, “यदि कुनै डिलर वा पसलले ग्यास छैन भनेर कृत्रिम अभाव सिर्जना गरेमा तत्काल सिडिओ कार्यालय वा मेरो आधिकारिक मोबाइल नम्बर ९८५१२१७७७७ मा सिधै खबर गर्नुहोस्। हामी त्यस्ता व्यापारीमाथि तत्काल कारबाही प्रक्रिया अगाडि बढाउँछौँ।”
कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णमुरारी न्यौपाने, उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरका प्रमुख रामप्रसाद कुश्मा र प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीलगायतले मन्तव्य राखेका थिए।
उक्त कार्यक्रमको सभापतित्व राष्ट्रिय उपभोक्ता मञ्चका भक्तपुरका अध्यक्ष मनोज थापाले गरेका थिए।

