भक्तपुर। राष्ट्रिय स्वतन्त्र पार्टी भक्तपुर नगरपालिका–३ मा सम्पन्न प्रथम ऐतिहासिक वडा अधिवेशनबाट नारायण प्रसाद सिलाकार सर्वसम्मत रूपमा सभापतिमा निर्वाचित भएका छन्। शनिबार सम्पन्न अधिवेशनले ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
नवगठित कार्यसमितिको उपसभापतिमा रमेश चगुथी, सचिवमा सोनम थिमी तथा सदस्यहरूमा बिनोज श्रेष्ठ र सरोज साखकर्मी चयन भएका छन्। त्यसैगरी महिला सदस्यमा रश्मिला हाड़ा र तमना थिमी निर्वाचित भएका छन्।
अधिवेशन कार्यक्रममा भक्तपुर–१ का प्रतिनिधिसभा सदस्य रुकेश रंजित, भक्तपुर नगर सभापति संचज्ञान याकामीलगायत नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले संगठनलाई वडा तहसम्म मजबुत बनाउँदै जनतासँग प्रत्यक्ष जोडिने अभियानलाई थप प्रभावकारी बनाइने बताएका थिए।
रास्वपाले भक्तपुर क्षेत्रमा संगठन विस्तारलाई तीव्रता दिँदै आएको जनाएको छ। पार्टीले स्थानीय तहमा युवाको सक्रिय सहभागितासँगै संगठनलाई अझ सशक्त बनाउने लक्ष्य लिएको बताएको छ।

