काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद् पुनर्स्थापना नहुने स्पष्ट दाबी गरेका छन्। पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस र नेकपा एमालेले निर्वाचनमा नगई स्वतः ठूला दल बन्न सकिन्छ कि भन्ने भ्रममा संसद् पुनर्स्थापनाको कुरा अघि सारेको आरोप लगाए।
प्रचण्डले कांग्रेस–एमाले न्यायालयसम्म पुगे पनि संसद् पुनःस्थापनाको सम्भावना नरहेको जिकिर गरे। “म सबैलाई स्पष्ट रूपमा भन्न चाहन्छु—कुनै भ्रममा पर्न आवश्यक छैन। अहिले संसद् पुनर्स्थापना हुँदैन। निर्वाचनको प्रक्रिया अघि बढिसकेको छ,” उनले भने। उनले अब सबै दल निर्वाचनमै केन्द्रित हुनुपर्ने र निकट भविष्यमै कांग्रेस र एमाले पनि चुनावी तयारीमा लाग्ने विश्वास व्यक्त गरे।

उनले निर्वाचन नगरे देश थप अन्योल र दुर्घटनातर्फ जाने खतरा रहने चेतावनी दिए। “निर्वाचन नभए थप अन्योल हुन्छ, थप दुर्घटनाको जोखिम बढ्छ। त्यसैले सिङ्गो राष्ट्र अब निर्वाचनमा केन्द्रित हुनुपर्छ,” उनले भने।
प्रचण्डले आगामी निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्ने दाबी समेत गरे। साथै, जेन–जी आन्दोलनपछि भदौ २५ गते राष्ट्रपति कार्यालयमा भएको पहलमा आफ्नो पार्टीको सक्रिय भूमिकाका कारण देश ठूलो दुर्घटनाबाट जोगिएको दाबी गरे। उनले आम जनतालाई निर्वाचनतर्फ आकर्षित गर्नु अहिलेको मुख्य आवश्यकता रहेको बताए।

