भक्तपुर। भक्तपुरको काँक्राबारी क्षेत्रमा भइरहेको जग्गा प्लटिङ र त्यसबाट उत्पन्न हुन सक्ने सम्भावित क्षतिको न्यूनीकरणका लागि सोमबार संयुक्त अनुगमन गरिएको छ। भक्तपुरका प्रतिनिधिसभा सदस्यद्वय रुकेश रञ्जित र राजीव खत्री, प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रशासनको संयुक्त टोलीले स्थलगत निरीक्षण गर्दै वस्तुस्थितिबारे जानकारी लिएका हुन्।
अनुगमनका क्रममा जग्गा प्लटिङको वर्तमान अवस्था, कानुनी मापदण्डको पालना, सम्भावित वातावरणीय तथा भौतिक जोखिम र स्थानीय बासिन्दाको चासोबारे छलफल गरिएको जनाइएको छ। टोलीले अनियन्त्रित प्लटिङका कारण भविष्यमा हुन सक्ने क्षतिप्रति सचेत रहँदै आवश्यक रोकथामका उपाय अवलम्बन गरिने जनाएको छ।
प्रतिनिधिहरूले विकास निर्माणका गतिविधि प्रचलित कानुन र मापदण्डअनुसार हुनुपर्नेमा जोड दिएका छन्। साथै, सम्बन्धित निकायबीच समन्वय बढाएर अनधिकृत गतिविधिमाथि निगरानी कडा पारिने र वातावरणीय सन्तुलन कायम राख्दै सुरक्षित तथा व्यवस्थित बस्ती विकासलाई प्राथमिकता दिइने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

