भक्तपुरको सूर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि विभिन्न कर तथा शुल्कमा छुट दिने व्यवस्था गरेको छ।
नगरपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार विस्तारित सडकमा नक्सा अभिलेखीकरण गर्दा गैरनाफामूलक तथा सामुदायिक संस्थाका भवनमा लाग्ने शुल्कमा १५ प्रतिशत छुट दिइनेछ। त्यस्तै, चालु आर्थिक वर्षको पुस मसान्तभित्र सम्पत्ति, भूमिकर तथा व्यवसाय कर तिर्ने करदातालाई लाग्ने शुल्कमा २० प्रतिशत, विगत वर्षको कर, शुल्क तथा महसुल चालु आर्थिक वर्षको पुस मसान्तसम्म तिरेमा जरिवाना रकममा ५० प्रतिशत छुट दिइने नगरपालिकाले जनाएको छ।
महिला तथा पुरुषको साझेदारीमा लघु तथा घरेलु उद्योग दर्तामा १५ प्रतिशत, एकल महिला, अपाङ्गता भएका तथा लैङ्गिक अल्पसंख्यक उद्यमीको लघु तथा घरेलु उद्योग दर्ता तथा नवीकरणमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ। विपद्, महामारी तथा सडक दुर्घटनाबाट प्रभावित करदातालाई कर वा सोको अंशमा आवश्यकताअनुसार छुट दिन सकिनेछ।
यसैगरी, ‘घ’ वर्गका निर्माण व्यवसायीलाई वार्षिक करमा २० प्रतिशत, आय सडक संकलनका लागि एकमुष्ट रकम बुझाउने फर्म वा कम्पनीलाई अधिकतम ५ प्रतिशत तथा अपाङ्गता भएका व्यक्तिको उद्योग–व्यवसाय सुरु दर्तामा ‘घ’ वर्गलाई २० प्रतिशत र अन्यलाई २५ प्रतिशत छुट दिने व्यवस्था गरिएको छ।


