मुक्ति, प्रेम र शान्तिको सन्देशसहित आज ख्रीष्टमस दिवस मनाइँदै

समाचार
0Shares

काठमाडौं : क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज नेपालभर क्रिश्चियन समुदायले ख्रीष्टमस दिवस श्रद्धा, उल्लास र धार्मिक कार्यक्रमका साथ मनाउँदैछन्। आजभन्दा करिब दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको विश्वास गरिन्छ।

नेपाल ख्रिष्टियन महासंघका अध्यक्ष सिबी गहतराजका अनुसार येशु ख्रीष्टले मानवजातिलाई मुक्ति, प्रेम र शान्ति प्रदान गर्नुभएको विश्वासका आधारमा ख्रीष्टमस दिवसलाई तीनै अर्थ बोकेर मनाउने गरिन्छ। प्रेम फैलाउन आउनु भएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र पापबाट मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा ख्रीष्टमस मनाइने उनले बताए।

नेपालमा २०६३ सालदेखि महासंघको पहलमा ख्रीष्टमसलाई महोत्सवका रूपमा मनाउन थालिएको हो। महासंघ मूल समारोह समितिको आयोजनामा आज दिउँसो ‘क्रिश्चियन महोत्सव २०८२’ आयोजना गरिँदैछ, जसमा सरकारका प्रतिनिधि, सरोकारवाला निकाय, मानवअधिकारकर्मी तथा विभिन्न समुदायका व्यक्तिको सहभागिता रहने जनाइएको छ।

ख्रीष्टमस दिवसका अवसरमा देशका प्रमुख सहर तथा पर्यटकीय क्षेत्रमा विशेष रौनक देखिएको छ। ठमेल, बौद्ध, पोखरा र सौराहाजस्ता स्थानहरू क्रिसमस ट्रि र झिलिमिली बत्तीले सजिएका छन्। महासंघका अनुसार हाल नेपालमा करिब ३० लाख क्रिश्चियन धर्मावलम्बी र १३ हजारभन्दा बढी चर्च रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *