काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह आज आयोजना हुँदैछ। विश्वविद्यालयको इतिहासमै पहिलोपटक नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरी दीक्षान्त समारोह गर्न लागिएको हो। समारोहका प्रमुख अतिथि जापानका प्रख्यात भौतिकशास्त्री तथा नोबेल पुरस्कार विजेता प्राध्यापक ताकाआकी काजिता रहनेछन्। उनी टोकियो विश्वविद्यालयमा आबद्ध छन् र सन् २०१५ मा भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गरेका थिए।

त्रिविका उपकुलपति प्रा. डा. दीपक अर्यालका अनुसार दीक्षान्तका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ। मण्डप निर्माण, दीक्षित विद्यार्थी तथा अभिभावकका लागि बस्ने व्यवस्था लगायतका काम सम्पन्न गरिएको छ। यसपटक १६ हजार ३ सय ८० विद्यार्थी दीक्षित हुनेछन् भने विद्यार्थी र अभिभावकसहित करिब ४१ हजार जनाको सहभागिता रहने अनुमान गरिएको छ।

कार्यक्रममा विभिन्न सङ्काय तथा तहमा उत्कृष्ट नतिजा हासिल गर्ने २५ जना विद्यार्थीलाई पदक प्रदान गरिनेछ। यस वर्ष त्रिविबाट मानविकी, व्यवस्थापन, कानून र शिक्षातर्फ गरी ८९ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण भएका छन्।

