भक्तपुरमा इट्टा भट्टाबाट निस्कने प्रदूषणले स्थानीय जनजीवनमा गम्भीर असर पार्दै आएको छ। विशेषगरी सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा सञ्चालनमा रहेका इट्टा भट्टाहरूबाट निस्कने धुवाँ र धुलोका कारण वायु गुणस्तर खस्कँदै गएको स्थानीयवासीको गुनासो छ। सडकको धुलोसँगै भट्टाबाट आउने धुवाँले वातावरण झनै प्रदूषित बनाएको उनीहरू बताउँछन्।
पछिल्लो समय भक्तपुरमा तीव्र रूपमा बस्ती विस्तार भइरहेका बेला पनि इट्टा भट्टाहरूले प्रदूषण नियन्त्रणतर्फ ध्यान नदिएको आरोप छ। मानव बस्ती नजिकै सञ्चालन भइरहेका भट्टाहरूले दैनिक रूपमा धुवाँ उत्सर्जन गर्दा श्वासप्रश्वाससम्बन्धी रोग, एलर्जी तथा अन्य स्वास्थ्य समस्या बढ्दै गएको स्थानीयको भनाइ छ।
स्थानीयहरूले पटक–पटक सरोकारवाला निकायमा गुनासो राखे पनि प्रभावकारी कदम चालिएको देखिँदैन। संघीय निर्वाचनका बेला उम्मेदवारहरूसँग समेत यो समस्या उठाइएको भए पनि निर्वाचित जनप्रतिनिधिबाट ठोस पहल नदेखिएको गुनासो गरिएको छ।
विज्ञहरूले इट्टा भट्टाबाट हुने प्रदूषण दीर्घकालीन रूपमा जनस्वास्थ्यका लागि खतरनाक हुन सक्ने चेतावनी दिएका छन्। स्थानीयवासीले तत्काल अनुगमन कडा बनाउँदै प्रदूषण नियन्त्रणका प्रभावकारी उपाय अवलम्बन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

