बुद्धिकृष्ण लामिछानेलाई बिर्सदा : भक्तपुरले आफ्नै आवाज बिर्सिरहेको छ

विचार समाचार
0Shares
कुनै पनि समाजको वास्तविक उचाई  त्यो समाजले बनाएका भवन होइन, बचाएका स्मृतिले मापन हुन्छ। सडक, पुल, पार्क र प्रवेशद्वार बिकासका जीवन्त हुन सक्छन तर समाजलाई इतिहासमा चिनाउने सस्कृतिका सम्बाहक भनेका त्यहि समाजका  श्रष्टा , कलाकार नै हुन्। बिडम्बना भन्नु पर्छ , हामीले बिकासको आत्मा सस्कृतिलाई जीवन दिने मानिसहरुलाई चाही विस्तारै ओझेलमा परिरहेका छौ। भक्तपुर , बिशेषत: चाँगुनारायण र वागेश्वरी आज यहि यक्ष प्रश्नको अघिल्तिर उभिएका छन्।   भक्तपुरको पूर्वी भेगको  वागेश्वरी  डाडो मुसुक्क हास्छ  किनकि उसकै काखमा रहेको सानो गाउको माटोमा एउटा बालक बुद्धिकृष्ण लामिछानेको जन्म हुन्छ  , अनि फेरी बागेश्वरीको त्यो डाडो भने लमतन्न सुतिरहन्छ। बुद्धि कृष्ण लामिछाने एउटा गायक मात्र थिएनन्। उनि गाउको आवाज थिए। खेतावारिको पसिना, मेलापातको रमाइलो, गरिबको आत्मसम्मान , प्रेमको सरलता र नेपाली जीवनको मौलिक लय र भाकालाई उनले गीतमा उतारे। उनले अफ्नो लोक गीत मार्फत   गाउलाई कहिल्यै दयाको पात्र बनाएनन , गाउलाई गौरवको बिषय बनाए।
उनको चर्चित गीतको एउटा पंक्ति “फाटेको दौरा लाएर , खोले सिस्नु खाएर ” यी शब्दले एउटा युग बोल्छ।  यहाँ अभाव छ , तर आत्मसमर्पण छैन। गरिवी छ , तर स्वाभिमान जीवित छ। त्यसैले त्  समयले आधुनिकतामा नयापनको  फड्के तर्दै गर्दा उनका गीत पुराना भएनन्। किनभने उनी गीत मात्र गाइरहेका थिएनन् , उनी समाजको जीवित इतिहास  लेखिरहेका थिए । आज पनि “घास काट्ने खुर्केर आयो जोवन हुर्केर ,”पिढीमा बसेर “, “तिम्रो र मेरो मायाको डोरो ” , “पर्नु पीर पर्यो ” जस्ता उनका गीत नया पुस्ताले सुन्छ। रेडियोले बजाउछ। सामाजिक संजालले पुनर्जीवित गर्छ। यति भन्दै गर्दा एउटा प्रश्नको आकार चाही झन् ठूलो बन्दै गएको छ त्यो हो , देशले सम्झिएको  कलाकारलाई उनको आफ्नै जन्मथलोले पनि सम्झिएको छ त ? यो प्रश्न कसै प्रति दोषी करार गर्न होइन , हामी सबैलाई यसले आफ्नै ऐना अगाडी उभ्याउन बाध्य चाही परेको छ।
हामि सम्पदा संरक्षणको कुरा गर्छौ। मन्दिर पुननिर्माण गर्छौ। जात्रा मनाउछौ। कूल र परम्पराको चर्चा गर्छौ। तर सस्कृति मन्दिरको गजुरमा हुदैन।  त्यो त लोकगायकको स्वरमा पनि हुन्छ। सम्पदा ढुंगा , काठ र ईट्टामा सीमित हुदैन  , त्यो त बुद्धि कृष्ण लामिछाने जस्ता स्रष्टाको जीवन र सिर्जनामा पनि जीवित हुन्छ। तसर्थ हामीले आफ्नो माटोको यस्ता कलाकारलाई सस्थागत रुपमा सम्मान गर्न चुक्यौ भने “सस्कृति संरक्षण ” भन्ने हाम्रो आदर्श अधुरो रहन्छ अपुरो रहन्छ। आजको परिप्रेक्षमा स्थानीय सरकारहरु विकासका उपलब्धी सार्वजनिक गर्छन। सडकको लम्बाई , बजेटको आकार , भवनको संख्या गनिन्छ।  यी आवश्यक छन् र यो उपलब्धिलाई स्थानीय सरकारमा साधुवाद गर्ने पर्छ। तर एउटा प्रश्नको उत्तर पनि तपाईहरुले दिनु  पर्छ, तपाइँहरुले आफ्नो नगरको सास्कृतिक इतिहासका लागि के गर्नु भयो ? नगरको पहिचान कालोपत्रे सडकले मात्र हुदैन।  त्यो नगरको कलाकार, लेखक , बैज्ञानिक , शिक्षक र स्रष्टाले बनाउछन। यदि उनीहरुलाई बिर्सेर विकासको कथा मात्र लेखियो भने त्यो कथा अपूर्ण हुन्छ।
बुद्धि कृष्ण लामिछानेको नाममा चाँगुनारायणमा वार्षिक लोकगीत महोत्सव किन छैन ? उनको नाममा लोकसंगीत सम्मान किन स्थापना गरिदैन ? बागेश्वरीमा एउटा स्मृति उदधान किन छैन ? स्थानीय विद्ध्यालयका पाठ्यक्रममा उनको योगदान किन समेटिएको छैन ?  यी प्रश्नहरु कसैलाई असहज लाग्न सक्लान। तर असहज प्रश्नबाट तर्केर समाज परिपक्क्व बन्दैन। हामी एउटा विचित्र समाज बन्दै गैरहेका छौ।  कलाकार जीवित हुदा संघर्ष गर्छन। अभाव झेल्छन।  सम्मानको प्रतिक्षा गर्छन। त्यो  दिन पनि आउछ जुन दिन कलाकार ले यो धर्ति छोड्छन  त्यसपछि श्रद्दान्जलीका भाषण , माला र सामाजिक संजालका भावुक स्टाटस ओइरिञ्छन। त्यसैले सम्मान सधै मृत्युको प्रतिक्षा गरेर मात्र दिने हो भने त्यो सम्मान होइन , हाम्रो सामुहिक झारा तिराईको सार्वजनिक प्रदर्शन मात्र हो।
भक्तपुरका बौद्धिक वर्ग , सास्कृतिक अभियन्ता , पत्रकार , साहित्यकार र राजनीतिक नेतृत्त्व सबैसंग एउटै आग्रह छ , स्रष्टाको सम्मानलाई राजनीतिक एजेन्डा होइन, सभ्यताको दायित्त्वका रुपमा हेरौ।  किनकि कलाकारले कुनै दलको प्रतिनिधित्त्व गर्दैन , उसले समाजको आत्माको प्रतिनिधित्त्व गर्छ।
आज बुद्धि कृष्ण लामिछानेको कुरा गर्नु भनेको एक व्यक्तिको कुरा गर्नु मात्र होइन। यो त हामी भित्र रहेको सास्कृतिक संबेदनाको परिक्षण गर्नु हो।  हामीले आफ्ना छोराछोरीलाई विश्वका प्रसिद्द कलाकारको नाम सिकाउछौ।  त्यो राम्रो हो।  तर नानीहरुलाई आफ्नै दैला करेसाका कालजयी लोकगायकको  नाम पनि सिकाउन सकेनौ भने हाम्रो शिक्षाले जरा गुमाउने छ। स्मारक बनाउन धेरै पैसा चाहिदैन , चाहिन्छ इच्छाशक्ति।  एउटा निर्णयले इतिहास बदल्न सक्छ।  चाँगुनारायण नगरपालिकाले  बुद्धि कृष्ण लामिछानेको नाममा वार्षिक लोकसंगीत पुरस्कार स्थापना गरिदियो भने त्यो एउटा पुरस्कार मात्र हुनेछैन  त्यो स्रष्टालाई सम्मान अर्पण गर्ने सस्कृतिको श्रीगणेश हुनेछ। बागेश्वरीले  उनको स्मृतिमा एउटा सार्वजनिक स्थल समर्पित गर्यो भने त्यो एउटा संरचना मात्र हुने छैन , त्यो भावी पुस्ताका लागि सास्कृतिक पाठशाला हुनेछ।
प्रश्न फेरी आउछ , हामी कस्तो समाज बन्न चाहन्छौ ? आफ्नो स्रष्टा जीवित हुदा मौन बस्ने , अनि उनीहरु इतिहास भएपछी मात्र सम्झने समाज ? कि  स्रष्टाले लगाएको गुणको  ऋण समयमै स्वीकार गर्ने समाज ? 
भक्तपुरसंग अझै अवसर छ।  चाँगुनारायणसंग अझै अवसर छ।  बागेश्वरीसंग  अझै अवसर छ। यो अवसर कुनै व्यक्तिलाई सम्मान गर्ने मात्र होइन , आफ्नै सास्कृतिक आत्मालाई पुन:जागृत गर्ने अवसर हो।
अन्तत : इतिहासले एउटै प्रश्न हामीलाई सोध्छ , तपाईहरुले आफ्नो स्रष्टालाई कस्तो मुल्यांकन गर्नुभयो ? त्यो प्रश्नको गर्वका साथ् उत्तर दिन मिल्छ भने बिलम्ब नगरौ , आजैबाट सुरु गरौ। किनभने आफना कलाकारलाई सम्मान गर्ने समाजले मात्र आफ्ना सन्ततिलाई पहिचान दिन सामर्थ्य राख्छ। बुद्धि कृष्ण लामिछानेलाई सम्मान गर्नु एउटा कलाकारलाई सम्मान गर्नु होइन , त्यो समग्र भक्तपुरले आफ्नै माटो, आफ्नै सस्कृति र आफ्नै आत्माको सम्मान गर्नु हो।  र अन्त्यमा,
आफ्नो स्वर बिर्सने समाजले एकदिन आफ्नो इतिहास पनि गुमाउछ।
(लेखक – चाँगुनारायण-९ ताथली, भक्तपुर निवासी हुन् )

Leave a Reply

Your email address will not be published. Required fields are marked *