भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर मानिने डोलेश्वर महादेव मन्दिरमा साउन १ गतेदेखि सुरु हुने ३८ दिने श्रावणी मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। मेला अवधिमा करिब ५० लाख स्वदेशी तथा ५० हजार भारतीय भक्तजन आउने अनुमान गरिएको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिए।
मेलाबाट एक करोड रुपैयाँभन्दा बढी भेटी संकलन हुने र करिब १८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। मेलालाई व्यवस्थित बनाउन १४ वटा उपसमिति गठन गरिएको, स्वास्थ्य परीक्षण, भजन–कीर्तन तथा धार्मिक प्रवचनका कार्यक्रमसमेत सञ्चालन गरिने समितिले जनाएको छ।
वडा अध्यक्ष पुष्पराज बस्नेतका अनुसार श्रद्धालुको सुरक्षाका लागि ५५ वटा सीसीटीभी जडान गरिएको छ भने सरसफाइ, ट्राफिक, सुरक्षा र पार्किङ व्यवस्थापनको तयारी पूरा भएको छ। ११०० रुपैयाँको पञ्चामृत लिने भक्तजनका लागि छुट्टै दर्शन लाइनको व्यवस्था गरिएको उनले बताए।
साउन १ गते बिहान पौखेलस्थित चन्द्रविनायक मन्दिरबाट डोलेश्वरसम्म कलश यात्रा निकालिनेछ। त्यसपछि बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले श्रावणी मेलाको उद्घाटन गर्ने कार्यक्रम छ। यस वर्षको भेटीबाट मन्दिर नजिकै वृद्धाश्रम निर्माण गर्ने लक्ष्य राखिएको समितिले जनाएको छ।