काठमाडौं — जेनजी आन्दोलन का क्रममा भएका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ। आइतबार सिंहदरबार पुगेर आयोगको टोलीले प्रधानमन्त्री सुशीला कार्की लाई अनुसन्धान प्रतिवेदन हस्तान्तरण गरेको हो।
प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै आयोगका सदस्य विज्ञानराज शर्मा ले आन्दोलनका क्रममा कसले गल्ती गरेको भए पनि कारबाही हुने बताए। उनका अनुसार आन्दोलन सुरु भएदेखि नै सुरक्षा व्यवस्थामा कमजोरी रहेको तथ्य प्रतिवेदनमा उल्लेख गरिएको छ।
आन्दोलनका क्रममा भएका घटनाक्रम तथा सरकारी पक्षबाट भएको भनिएको दमनबारे अध्ययन गर्न अन्तरिम सरकारले गत असोज ५ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्की को संयोजकत्वमा आयोग गठन गरेको थियो। आयोगलाई सुरुमा तीन महिनाको समय दिइएको भए पनि काम पूरा गर्न नसकेपछि सरकारले म्याद थप गरेको थियो।
भदौ २३ र २४ गते भएको आन्दोलनमा ७४ जनाको मृत्यु भएको थियो। त्यसक्रममा सिंहदरबार, सर्वोच्च अदालत लगायत विभिन्न सरकारी संस्थामा तोडफोड र आगजनीसमेत भएको थियो।

