पहिलो सेमिफाइनल खेलमा ग्रुप ‘ए’ को वडा नं ७ ले ग्रुप ‘बी’ को वडा नं २ लाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। लिग चरणको समाप्तिसम्म वडा नं ७ ले १० अंक तथा वडा नं २ ले ६ अंक हासिल गरेका थिए। खेलको पहिलो हाफमा वडा नं ७ ले १ गोल गरेको थियो भने दोस्रो हाफमा थप २ गोल गर्दै जित सुनिश्चित गरेको हो।
यस्तै दोस्रो सेमिफाइनलमा ग्रुप ‘बी’ को वडा नं ८ ले ग्रुप ‘ए’ को वडा नं ९ लाई ६–२ गोल अन्तरले हराउँदै उपाधि नजिक पुगेको छ। लिग चरणमा वडा नं ८ ले १० अंक तथा वडा नं ९ ले ९ अंक जोडेका थिए। पहिलो हाफमा वडा नं ८ ले २ गोल गर्दा वडा नं ९ ले १ गोल फर्काएको थियो। दोस्रो हाफमा वडा नं ८ ले थप ४ गोल गर्दा वडा नं ९ ले १ गोल मात्रै गर्न सफल भयो।
“मित्रता, अनुशासन र स्वास्थ्यका लागि खेल” भन्ने नारासहित सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले २५ हजार रुपैयाँ तथा उपविजेताले १२ हजार ५०० रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ। उत्कृष्ट गोलकिपर र उत्कृष्ट खेलाडीलाई जनही २ हजार ५०० रुपैयाँ नगद प्रदान गरिनेछ।
प्रतियोगिताको फाइनल खेल शनिबार बेलुकी ६ बजे वडा नं ७ र वडा नं ८ बीच हुने आयोजकले जनाएको छ।

