नाट्यकर्मी समाज नेपालको आयोजनामा सञ्चालन भइरहेको ११ दिने रामशेखरया ख्याल: ब्वज्या दोस्रो दिन पनि आइतबार जारी रह्यो। हास्यव्यङ्ग्य कलाकार तथा साहित्यकार रामशेखर नकर्मीद्वारा रचित १० वटा ख्याल ११ दिनसम्म हरेक दिन एक–एक गरी मञ्चन गर्ने कार्यक्रमअन्तर्गत दोस्रो दिन ‘छेरावती द्यः’ प्रस्तुत गरिएको हो।
ख्वप कलेजले मञ्चन गरेको उक्त ख्यालको निर्देशन राजेन्द्र श्रेष्ठले गरेका थिए भने कला संयोजन विकास तमखुले गरेका थिए। १४ जना कलाकारको अभिनय रहेको ख्यालले राजनीतिक विकृति, सरसफाइको अवस्था तथा सामाजिक विसंगतिमाथि व्यंग्य गरेको थियो।
कार्यक्रममा नाट्यकर्मी समाज नेपालका अध्यक्ष लक्ष्मीप्रसाद चवालले दर्शकलाई थियटरको आचारसंहिता पालना गर्न आग्रह गरे। प्रहसनपछि कलाकार आशकाजी थकुले ख्याल नाटकलाई अझ प्रभावकारी र जीवन्त बनाउन दर्शकको रचनात्मक सुझाव आवश्यक रहेको बताए।
रामशेखरया ख्याल: ब्वज्याको उद्घाटन शनिबार नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेले गरेका थिए। आगामी दिनहरूमा पनि प्रत्येक दिन फरक–फरक ख्याल मञ्चन गरिने आयोजकले जनाएको छ।

