नन्दिकेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिले यस वर्षको साउने मेलाको तयारीलाई तीव्र बनाएको छ। समितिका अध्यक्ष श्रीराम ब्यान्जुले आगामी साउन ४ गते पलाँसेस्थित पञ्चकन्या मन्दिरबाट कलश यात्रा सुरु गरिने जानकारी दिएका छन्।
नेपाल प्रेस सोसाइटीसँग साउने मेलाको तयारी र व्यवस्थापनबारे गरिएको संक्षिप्त कुराकानीमा अध्यक्ष ब्यान्जुले धार्मिक परम्पराअनुसार कलश यात्रा पञ्चकन्या मन्दिरबाट सुरु भई ढुङ्गाडोल गणेश र त्रिवेणी धाम हुँदै नन्दिकेश्वर महादेव मन्दिरमा पुगेर समापन हुने बताए। उनका अनुसार कलश यात्रामा स्थानीय श्रद्धालु, विभिन्न धार्मिक संघ–संस्था तथा भक्तजनको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
अध्यक्ष ब्यान्जुले साउने मेलालाई व्यवस्थित, सुरक्षित र भव्य रूपमा सम्पन्न गर्न मूल समिति गठन गरिएको जानकारी दिँदै विभिन्न उपसमितिहरूमार्फत तयारीलाई अन्तिम चरणमा पुर्याइएको बताए। भक्तजनको सुरक्षा, सरसफाइ, खानेपानी, स्वास्थ्य सेवा, सवारी व्यवस्थापन तथा दर्शनलाई सहज बनाउन आवश्यक समन्वय भइरहेको उनको भनाइ छ।
साउन महिनाभर सञ्चालन हुने नन्दिकेश्वर महादेवको मेलामा भक्तपुरसहित काठमाडौँ उपत्यका र देशका विभिन्न जिल्लाबाट हजारौँ श्रद्धालु दर्शनका लागि आउने भएकाले सबै तयारीलाई व्यवस्थित ढंगले अघि बढाइएको समितिले जनाएको छ। अध्यक्ष ब्यान्जुले धार्मिक आस्था, संस्कृति र परम्पराको संरक्षणसँगै मेलालाई सफल बनाउन सबै श्रद्धालुलाई सहभागी हुन पनि आग्रह गरेका छन्।

