रास्वपा चाँगुनारायण गुरुयोजनासंगै निर्वाचन रणनीतिमा

राजनीति समाचार
0Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चाँगुनारायण नगर समिति आगामी स्थानीय तह निर्वाचनको तयारीलाई व्यवस्थित बनाउन र पालिकाको पाँचवर्षे विकास गुरुयोजना निर्माण गर्न सक्रिय भएको छ। तल्लो तहदेखि माथिल्लो तहसम्मका सांगठनिक अधिवेशन सम्पन्न गरेसँगै नगर समितिले चुनावी रणनीति र विकासको दीर्घकालीन खाका तयार पार्ने काम अघि बढाएको हो।

नगर समितिले पार्टीको मेरिटोक्रेसी (योग्यता प्रणाली) र खुला आह्वानको नीतिअनुसार सहरी विकास, पूर्वाधार, गुरुयोजना, अर्थ, राजस्व, सार्वजनिक नीति तथा प्रशासन, शिक्षा, स्वास्थ्य, सामाजिक क्षेत्र, सम्पदा, पर्यटन र संस्कृतिका विज्ञहरू सम्मिलित विज्ञ समूह गठन गरिसकेको जनाएको छ। नगर समितिका सभापति रोशन थापाका अनुसार चाँगुनारायणको वस्तुनिष्ठ विकास योजना तयार गर्न ती विज्ञहरूको विशेषज्ञता उपयोग गरिनेछ।

थापाका अनुसार निर्वाचनको रणनीतिक तयारीलाई थप प्रभावकारी बनाउन उच्चस्तरीय सल्लाहकार समिति गठनको प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ। समितिले चाँगुनारायण नगरपालिकाका नौवटै वडामा पुगेर स्थानीय राजनीतिकर्मी, समाजसेवी, पूर्वप्रशासक, व्यवसायी, प्रतिष्ठित नागरिक तथा विषयविज्ञसँग छलफल गरी सुझाव संकलन गर्नेछ। विज्ञ समूह र सल्लाहकार समितिको संयुक्त सुझावका आधारमा नगरपालिकाको वार्षिक बजेट लक्ष्य, दिगो विकासको पाँचवर्षे मार्गचित्र, सार्वजनिक जग्गा व्यवस्थापन तथा आन्तरिक स्रोत परिचालनको रणनीति तयार गरिने र आगामी निर्वाचनमा तथ्य र तथ्याङ्कमा आधारित चुनावी एजेन्डा प्रस्तुत गरिने सभापति थापाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *