भक्तपुर क्यान्सर अस्पतालका ३७२ कर्मचारीको भविष्य अन्योलमा

अन्य समाचार
0Shares
भक्तपुर, असार ३० — भक्तपुर क्यान्सर अस्पताल विकास समितिले अस्पतालको कर्मचारी सेवा, शर्त तथा सुविधा विनियमावली हालसम्म स्वीकृत नभएको भन्दै ३७२ कर्मचारीको भविष्य अन्योलमा परेको जनाएको छ। समितिले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा गठन आदेश–२०७७ अनुसार अस्पतालको सञ्चालन तथा व्यवस्थापन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत हुँदै आएको उल्लेख गर्दै विनियमावली स्वीकृतिमा भइरहेको ढिलाइप्रति गम्भीर ध्यानाकर्षण गराएको हो।
विज्ञप्तिअनुसार अस्पतालले देशका विभिन्न स्थानबाट आउने क्यान्सर बिरामीलाई स्वास्थ्य बीमा तथा न्यून शुल्कमा उपचार सेवा प्रदान गर्दै आएको छ। साथै विपन्न, गरिब र असहाय बिरामीका लागि पनि अस्पताल आशाको केन्द्र बनेको दाबी गरिएको छ। आवश्यकताअनुसार आधुनिक उपकरण जडान गरी सेवा विस्तार भइरहेको र चिकित्सक तथा स्वास्थ्यकर्मीले निरन्तर उपचार सेवा दिइरहेको अस्पतालको भनाइ छ।
तर, गठन आदेश लागू भएको लामो समय बितिसक्दा पनि कर्मचारी सेवा, शर्त तथा सुविधा विनियमावली स्वीकृत नभएकाले कर्मचारीहरू अस्थायी अवस्थामै काम गर्न बाध्य भएको विज्ञप्तिमा उल्लेख छ। विनियमावली अभावकै कारण मनपरी ज्यालादारी नियुक्ति र नियमविपरीत तलब वृद्धि प्रक्रियाले प्रश्रय पाएको आरोप पनि लगाइएको छ।
अस्पतालका अनुसार विनियमावली लोक सेवा आयोग, अर्थ मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयको सिफारिसपछि विकास समितिबाट अध्ययन गरी अध्यक्ष, कार्यकारी निर्देशक तथा पदाधिकारीहरूको हस्ताक्षरसहित स्वीकृतिका लागि मन्त्रालयमा पठाइसकिएको छ। त्यसका बाबजुद हालसम्म निर्णय नहुँदा कर्मचारीको मनोबल कमजोर बनेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *