नेपाल प्रेस सोसाईटी र भक्तपुर नागरिक समाजको संयुक्त आयोजनामा आज ‘फोहोरमैलाको वर्तमान अवस्था, चुनौती र अवसर’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रेस सोसाईटीको हलमा बिहान ७:३० बजे आयोजित उक्त कार्यक्रममा फोहोर व्यवस्थापनमा स्थानीय तह, निजी संस्था र नागरिकको भूमिकाबारे गहन छलफल भयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले नगरपालिकामा तीव्र जनघनत्व बढेकाले फोहोर व्यवस्थापनमा नागरिक आफैँ बढी सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । कुल ३५ हजार घरधुरीमध्ये १६ हजार मात्र फोहोर व्यवस्थापनको सदस्य रहेको जानकारी दिँदै उहाँले फोहोरलाई स्रोतमा नै वर्गीकरण गर्नुपर्ने औंल्याउनुभयो ।
त्यस्तै, नेप्सेम्याक सेवा प्रा.लि.का निर्देशक बाबुराम चौलागाईले काठमाडौँ उपत्यकाको बञ्चरेडाँडा डम्पिङ साइट ५० प्रतिशतभन्दा बढी भरिसकेकाले आगामी ४–५ वर्षपछि फोहोर लैजान नसकिने चेतावनी दिनुभयो । भक्तपुरबाट मात्रै दैनिक २०० टन (सूर्यविनायकबाट ५५ टन) फोहोर संकलन हुने गरेको बताउँदै उहाँले स्थानीय तहले जग्गा व्यवस्थापन गरे फोहोरलाई मोहरमा बदल्न सकिने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा स्थानीयवासीले फोहोरमैला व्यवस्थापनमा नीतिगत कडाई गर्न, जथाभाबी फोहोर फाल्नेलाई ५ हजार रुपैयाँसम्म जरिवाना गर्न र खोलामा ढल मिसाउन रोक्न माग गरेका थिए । वातावरण शाखाका प्रतिनिधि माधव घिमिरेले चुनौती समाधानका लागि सहकार्य आवश्यक रहेको बताउनुभयो । नेपाल प्रेस सोसाईटीका अध्यक्ष उपेन्द्र केसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नागरिक समाजका प्रवक्ता केशव लुइँटेलले स्वागत मन्तव्य र रित बहादुर श्रेष्ठले कार्यक्रम सन्चालन गर्नुभएको थियो । उक्त कार्यक्रममा धन्यबाद ज्ञापन रामकुमार खड्काले गर्नुभएको थियो।

