भक्तपुरको ऐतिहासिक तथा विश्वप्रसिद्ध ङातापोल्हँ (पाँच तल्ले) मन्दिरको ३२४औँ वर्षबन्धन आज विशेष कार्यक्रमका साथ मनाइँदै छ। नेपाल संवत् ८२२ आषाढ शुक्ल प्रतिपदाका दिन (सन् १७०२) निर्माण सम्पन्न भएको पाँचतले मन्दिर तीन शताब्दीभन्दा बढी समयदेखि प्राकृतिक विपत्ति र ठूला भूकम्पको सामना गर्दै पनि अविचलित रूपमा उभिएको छ।
मल्लकालीन राजा भूपतिन्द्र मल्लको शासनकालमा निर्माण गरिएको यो मन्दिर नेपालको कला, संस्कृति, परम्परागत वास्तुकला र इन्जिनियरिङ कौशलको उत्कृष्ट नमुनाका रूपमा परिचित छ। शक्तिकी अधिष्ठात्री देवी सिद्धिलक्ष्मीको वास रहेको धार्मिक विश्वाससमेत रहेको यस मन्दिर भक्तपुर दरबार क्षेत्रको प्रमुख आकर्षण हो।
३२४औँ वर्षबन्धनका अवसरमा शुभकामना आदान–प्रदान, विशेष पूजाआजा तथा धार्मिक कार्यक्रम आयोजना गरिने जनाइएको छ। सरोकारवालाले नेपालको अमूल्य सांस्कृतिक सम्पदाका रूपमा रहेको ङातापोल्हँ मन्दिरको संरक्षण, संवर्द्धन र भावी पुस्तासम्म सुरक्षित हस्तान्तरणमा सबैको साझा दायित्व रहेको बताएका छन्।