काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको राजनीतिक भविष्य पार्टीभित्र चासोको विषय बनेको छ । कांग्रेस नेताहरूका अनुसार खड्काका लागि सभापति बन्ने दुई सम्भावित बाटोबारे लामो समयदेखि चर्चा हुँदै आएको थियो । पहिलो, वर्तमान सभापति शेरबहादुर देउवाको स्पष्ट समर्थनसहित सभापतिको उम्मेदवार बन्ने र दोस्रो, देउवाको साथ नपाए आफ्नै बलबुतामा नयाँ समीकरण निर्माण गर्दै प्रतिस्पर्धामा उत्रिने ।
पछिल्लो समय देउवासँग भेटघाट गरेर फर्किएका नेताहरूका भनाइअनुसार खड्काका लागि पहिलो विकल्प बलियो बन्दै गएको छ । देउवाले आसन्न महाधिवेशनमा खड्कालाई सभापतिमा सहयोग गर्ने सन्देश दिएको उनीहरू बताउँछन् । केही दिनअघि देउवा निवास पुगेका एक केन्द्रीय सदस्यका अनुसार सभापतिले संस्थापन पक्षका नेताहरूलाई खड्कालाई सघाउन आग्रह गरेका छन् । महाधिवेशन नजिकिँदा विवाद बढ्ने डरले नेताहरू औपचारिक रूपमा नाम खुलाउन भने चाहेका छैनन् ।
संस्थापन पक्षबाट खड्का सभापतिका स्वाभाविक उम्मेदवार मानिन्छन् । उनले उपसभापति, महामन्त्री, सहमहामन्त्री, केन्द्रीय सदस्य हुँदै कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालिसकेका छन् । यद्यपि, खड्काले अहिलेसम्म सभापतिको उम्मेदवारीबारे सार्वजनिक रूपमा मुख खोलेका छैनन् । तर उनका समर्थकले भने ‘सुझबुझ र निष्ठाको नेतृत्व’ भन्ने नारासहित प्रचार सुरु गरिसकेका छन् ।
देउवाका विश्वासपात्र मानिने खड्का कांग्रेस विभाजनअघिदेखि नै देउवासँग नजिक रहँदै आएका छन् । देउवा उपचारका लागि सिंगापुर जाँदा कार्यवाहक सभापतिको जिम्मेवारी पनि खड्कालाई नै दिइएको थियो । महाधिवेशनको कार्यतालिका विवादमा सहमति खोज्ने प्रयास गर्दा ढिलाइ भएको भन्दै उनीमाथि आलोचना समेत भएको थियो ।
यद्यपि, कांग्रेसभित्र सबै समूह खड्काप्रति सकारात्मक छैनन् । पूर्व पदाधिकारीहरूको एउटा समूह उनको उम्मेदवारीप्रति सशंकित रहेको बताइन्छ । कांग्रेस नेताहरूका अनुसार १५औँ महाधिवेशनमा खड्का, महामन्त्री गगन थापा र डा. शेखर कोइरालाबीच सभापतिका लागि मुख्य प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ ।

