“समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने नारासहित विश्व वातावरण दिवसको अवसरमा शुक्रबार भक्तपुरमा वृहत् वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।
वातावरण संरक्षण मञ्च भक्तपुर र कमेरोटार जग्गा एकीकरण आयोजना, मध्यपुर थिमीको संयुक्त आयोजनामा भएको कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। उनले रुद्राक्षको बिरुवा रोप्दै वृक्षारोपणसँगै यसको संरक्षणको जिम्मेवारी पनि लिनुपर्ने धारणा व्यक्त गरे।
अन्तरक्रियात्मक कार्यक्रममा वातावरण अभियन्ता प्रतिभा कसपालले प्राकृतिक जीवनचक्र मानवीय जीवनसँग प्रत्यक्ष सम्बन्धित रहेको उल्लेख गर्दै वनजंगल संरक्षणमा जोड दिइन्। वातावरणविद् बाबुराम श्रेष्ठले स्वच्छ वातावरणका लागि सबै पक्ष निरन्तर सक्रिय हुनुपर्ने बताउँदै प्रकृतिमाथिको अन्यायले निम्त्याउने मानवीय संकटप्रति स्थानीय सरकार सचेत हुनुपर्ने बताए।
कार्यक्रमका सभापति तथा वातावरण संरक्षण मञ्चका अध्यक्ष न्हुछेबहादुर प्रजापतिले वातावरण संरक्षण अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै सहयोगी संस्था तथा व्यक्तिहरूप्रति धन्यवाद ज्ञापन गरे।
कार्यक्रममा कपुर, रुद्राक्ष, कल्की, धुपीलगायत २०० बिरुवा रोपिएको थियो। वृक्षरोपण अभियानमा डिभिजन वन कार्यालय भक्तपुर, वन पैदावार उद्योग व्यवसायी संघ भक्तपुर, नेप्सेम्याक तथा मध्यपुर थिमी नगरपालिकाले सहयोग गरेका थिए।

