भक्तपुर नगरपालिका–१० नपली, सिर्जनानगरस्थित सन्तति आधारभूत विद्यालयमा शुक्रबार अध्ययनरत छात्राहरूलाई छात्रवृत्ति वितरण तथा नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गरिएको छ।
कार्यक्रमका सभापति तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले शिक्षा र स्वास्थ्य क्षेत्रमा भक्तपुर नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले विद्यार्थीहरूको शैक्षिक विकासमा अभिभावकको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण रहने उल्लेख गर्दै विद्यालयको शैक्षिक तथा प्रशासनिक कार्यलाई प्रभावकारी बनाउन आवश्यक शिक्षक तथा जनशक्ति व्यवस्थापनका लागि पहल भइरहेको जानकारी दिनुभयो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य भोजराज बस्नेतले नेपाल सरकारले उपलब्ध गराउँदै आएको छात्रवृत्ति रकम समयानुकूल वृद्धि हुन नसकेको बताउनुभयो। उहाँले विद्यालयमा विद्यार्थी संख्या बढ्दै गएको सन्दर्भमा आवश्यक व्यवस्थापनका लागि नगरपालिकाले सहयोग गरिरहेको जानकारी दिनुभयो। कमजोर शैक्षिक पृष्ठभूमिका विद्यार्थीलाई भर्ना गरी उत्कृष्ट नतिजा दिन सफल हुनु विद्यालयको सबल पक्ष रहेको उल्लेख गर्दै उहाँले मजदुर वर्गका छोराछोरीलाई शिक्षाबाट वञ्चित हुने अवस्था सिर्जना गर्नु संविधानको मर्मविपरीत हुने धारणा राख्नुभयो।
विद्यालयका प्रधानाध्यापक दीपक माकले विद्यालयको शैक्षिक उपलब्धि सुधार अभियानमा शिक्षक–शिक्षिका, अभिभावक, वडा कार्यालय तथा भक्तपुर नगरपालिकाको महत्वपूर्ण सहयोग रहेको बताउनुभयो। उहाँले विद्यार्थीहरूले पाठ्य अध्ययनसँगै व्यवहारिक ज्ञान र सीप विकासका लागि समयानुकूल अतिरिक्त क्रियाकलापमा समेत सक्रिय सहभागिता जनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यद्वय सम्झना प्रेमी र रेखा श्रेष्ठ, शिक्षकद्वय जगन्नाथ डुम्रे र कृष्णमाया बस्नेत तथा छात्रा निशिका खत्रीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
विद्यालयका विद्यार्थीहरूले विभिन्न सांस्कृतिक तथा आकर्षक नृत्य प्रस्तुत गरेका उक्त कार्यक्रममा ५५ जना छात्राहरूलाई छात्रवृत्ति वितरण गरिएको थियो भने नवभर्ना भएका ५० जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरी स्वागत गरिएको थियो।
विद्यालयका अनुसार चालु शैक्षिक सत्रको जेठ महिनासम्म विद्यालयमा कुल १९५ जना विद्यार्थी अध्ययनरत रहेका छन्।

