विश्व रक्तदाता दिवसको अवसरमा भक्तपुर नागरिक समाजले गर्‍यो २ दर्जनभन्दा बढी रक्तदातालाई सम्मान

समाचार
0Shares

विश्व रक्तदाता दिवसको अवसरमा भक्तपुर नागरिक समाजले भक्तपुरका सबैभन्दा धेरै पटक रक्तदान गर्ने व्यक्तिहरूलाई सम्मान गरेको छ। आइतबार नेपाल प्रेस सोसाइटी, सूर्यविनायकमा आयोजित कार्यक्रममा समाजले दुई दर्जनभन्दा बढी नियमित रक्तदातालाई सम्मान गरेको हो।

कार्यक्रममा प्रमुख अतिथि सूर्यविनायक नगरपालिकाकी समावेशी शाखा प्रमुख विजया सुवेदीले रक्तदान महादान भएकाले यसबारे जनचेतना फैलाउन अभियानकै रूपमा अघि बढाउनुपर्ने बताइन्। उनले भनिन्, “रक्तदानबारे उत्प्रेरणा जगाउन हामीले समूहमा गएर अझै काम गर्नुपर्छ। यसमा नगरपालिकाले पनि सक्दो सहयोग गर्नेछ।”

नेपाल रेडक्रस सोसाइटी भक्तपुरका सभापति परशुराम पाण्डेले रक्तदानलाई शिक्षा प्रणालीसँग जोड्नुपर्नेमा जोड दिए। उनले भने, “रक्तदानको विषय अब विद्यालयमा पढाउनुपर्ने बेला भएको छ। कक्षा ९ र १० का विद्यार्थीलाई रक्तदानबारे सचेतना दिन आवश्यक छ। त्यसका लागि यो विषय पाठ्यक्रममै समावेश गरिनुपर्छ।”

नेपाल रेडक्रस सोसाइटी भक्तपुरका पूर्व सभापति मनोजकुमार थापाले आफूले ‘रगत नपाए भक्तपुर जानु’ भन्ने अभियान चलाएको स्मरण गर्दै रक्तदानले स्वास्थ्यमा समेत फाइदा पुग्ने बताए। उनले भने, “म आफैंले १०३ पटक रक्तदान गरिसकेको छु। रगत दिँदा तीन महिनामै शरीरले नयाँ रगत उत्पादन गर्छ, जसले स्वास्थ्यमा मद्दत गर्छ।”

भक्तपुर नागरिक समाजका सहसंयोजक उपेन्द्र केसीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन प्रवक्ता केशव लुइँटेलले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *