राष्ट्रिय प्राणी उद्यानको कुरा प्रधानमन्त्री बालेन साहसमक्ष उच्च महत्वका साथ् राखेको छु : सांसद खत्री

समाचार
0Shares

भक्तपुर क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजीब खत्री ले राष्ट्रिय प्राणी उद्यानको काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। 

बिहीबार नेपाल प्रेस सोसाइटी ले सूर्यविनायकमा आयोजना गरेको “राष्ट्रिय प्राणी उद्यानको औचित्य र भविष्य” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद खत्रीले आगामी बजेटबाटै परियोजनाको काम सुरु गर्ने बताएका हुन्। उनले भने, “मैले केही समयअघि प्रधानमन्त्री बालेन साह ज्यूसँगको भेटका क्रममा पनि यो विषय उच्च महत्वका साथ उठाएको छु। मेरो निर्वाचन वाचापत्रमा समेत यो परियोजना पूरा गर्ने विषय समेटिएको थियो र म निरन्तर यसकै लागि लागिरहेको छु।” कार्यक्रममा सूर्यविनायक नगरपालिका का प्रवक्ता रविन्द्र सापकोटाले करिब एक दशक बितिसक्दा पनि परियोजना अघि नबढेको भन्दै चिन्ता व्यक्त गरे। उनले प्राणी उद्यान निर्माणमा ढिलाइ हुँदा स्थानीय समुदायमा जोखिम बढिरहेको बताए। उनले भने, “प्राणी उद्यानले गति नलिँदा हाम्रै समुदायमा जोखिम बढ्न थालेको छ। केही समयअघि यही जंगलमा चितुवाले ६ वर्षीय बालकमाथि आक्रमण गर्दा ज्यान नै गयो। अहिलेको शक्तिशाली सरकारले यो कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउनेमा हामी आशावादी छौँ।” त्यसैगरी सूर्यविनायक नगरपालिका–८ का वडा अध्यक्ष पुष्पराज बस्नेतले उद्यान निर्माणका लागि ६ वटा सामुदायिक वन उपलब्ध गराइसकेको उल्लेख गर्दै सरकारले छिटो प्रक्रिया अघि बढाउनुपर्ने बताए। उनले भने, “हामीले करिब १० वर्षअघि ६ वटा सामुदायिक वन उक्त प्राणी उद्यानलाई दिएका थियौँ। यदि सरकारले अझै उद्यान बनाउने काम अघि बढाउँदैन भने वन क्षेत्र हामीलाई फिर्ता गरिदिए हुन्छ, त्यसको संरक्षण हामी आफैँ गर्नेछौँ।” कार्यक्रममा बोल्दै राष्ट्रिय प्राणी उद्यानकी कार्यालय प्रमुख कुसुम नेपालले आफू विद्यार्थी जीवनदेखि सुन्दै आएको परियोजना अझै कार्यान्वयनमा नपुगेको भन्दै दुःख व्यक्त गरिन्। उनले भनिन्, “म आफैँ फरेस्ट्रीको विद्यार्थी हुँ। मैले पढ्ने बेलामै यो परियोजनाको विषयमा सुनेकी थिएँ। तर अहिले म आफैँ यो संस्थाको हाकिम भइसक्दा पनि काम अघि बढेको छैन। अहिलेको सरकारले काम अघि बढाउनेमा हामी आशावादी छौँ।” 

वि.सं. २०७१ साल माघ २९ गतेको मन्त्रिपरिषद् बैठकले भक्तपुरको सूर्यविनायकस्थित २ सय ४५ हेक्टर सामुदायिक तथा सरकारी वन क्षेत्रमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्ने निर्णय गरेको थियो। अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय केन्द्र बनाउने लक्ष्य राखिएको उक्त परियोजना हालसम्म पनि सुस्त गतिमै रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *