- प्रकाश चन्द्र खड्का
भक्तपुर जिल्लाका चार नगरपालिका मध्ये चाँगुनारायण नगरपालिका आजको सन्दर्भमा ऐतिहासिक र सांस्कृतिक धरोहरको केन्द्र मात्र होइन, कृषि सम्भावना बोकेको एउटा महत्वपूर्ण क्षेत्र पनि हो। देशव्यापी हिसाबले शहरीकरण तीव्र गतिमा फैलिँदै गएको वर्तमान अवस्थामा खेतीयोग्य जग्गा घट्दै गएको तथ्य हाम्रा सामु अब नौलो रहेन। यति हुँदाहुँदै पनि चाँगुनारायण नगरपालिकामा अझै पनि कृषि योग्य जग्गा उपलब्ध हुनु एउटा सम्भावनाको अवसर हो। तर सम्भावना आफैमा पर्याप्त हुँदैन, बरु त्यसको सही योजना, नीतिगत कार्यान्वयन र व्यवहारिक पहल कदमले मात्र समृद्धितर्फ रूपान्तरण गर्न सकिन्छ। यिनै यथार्थलाई आधार मानी चाँगुनारायण नगरपालिकाले परम्परागत निर्वाहमुखी खेती पद्धतिबाट माथि उठेर सामूहिक, वैज्ञानिक र व्यावसायिक कृषितर्फ सरोकारवालालाई उन्मुख गराई उत्प्रेरणा सिर्जना गर्नुपर्छ। अब प्रश्न उठ्छ—यसलाई प्रभावकारी र दिगो तवरले कहाँबाट सुरुआत गर्ने? यसको सम्भावित उत्तर स्पष्ट छ—विद्यालयबाट।
विशेषगरी चाँगुनारायण नगरक्षेत्र भित्रका विद्यालयहरू मध्ये कुनै विद्यालयमा कृषि विषय अध्यापन गराइने सार्वजनिक विद्यालय छन् भने पहिलो पाइलट परियोजना सुरु गर्नु सबैभन्दा व्यवहारिक र परिणाममुखी कदम हुन सक्छ। त्यस्ता विद्यालयहरूमा पहिले नै कृषि विषयको ज्ञान दिने आधारभूत भौतिक पूर्वाधार, शिक्षक र विद्यार्थी उपलब्ध हुन्छन्। भौतिक पूर्वाधार छ, शैक्षिक मानवस्रोत छ र अध्ययन गर्ने विद्यार्थी छन्—अब आवश्यक छ त्यो ज्ञानलाई व्यवहारमा उतार्ने तथा रूपान्तरण गर्ने सोच र योजनाको। आजको यो प्रतिस्पर्धी युगमा विद्यालयलाई सैद्धान्तिक शिक्षा प्रदान गर्ने थलोको रूपमा मात्र सीमित राख्नु अब समयको माग होइन। विद्यालयलाई सीप सिक्ने, उत्पादन गर्ने र उद्यमशीलता विकास गर्ने केन्द्रको रूपमा परिणत गर्न आवश्यक छ। उमेर र शारीरिक क्षमताको आधारले कक्षा ८ र कक्षा १० सम्मका अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै विद्यालय परिसर (सम्भव भएको अवस्थामा) वा नजिकैको उपलब्ध जग्गामा साना–साना सामूहिक खेती प्लट तयार गर्न सकिन्छ। विद्यार्थीहरूलाई समूह विभाजन गरी क्रमशः बाली छनोट, रोप्ने, सिँचाइ, स्याहार–सम्भार र उत्पादनसम्मका सम्पूर्ण प्रक्रियामा उनीहरूलाई सक्रिय रूपमा संलग्न गराउँदा उनीहरूले जीवनोपयोगी व्यवहारिक ज्ञान हासिल गर्न सक्षम हुनेछन्।
“पढ्दै कमाउँदै” भन्ने अवधारणा विगत लामो समयदेखि छलफलको विषय हुँदै आए पनि व्यवहारमा प्रभावकारी ढंगले लागू हुन सकेको देखिँदैन। चाँगुनारायण नगरपालिकाले यसलाई व्यवहारमा उतारेर कार्यान्वयन गर्न सके मुलुककै नमूना नगरपालिका बन्न सक्छ। विद्यार्थीहरूले उत्पादन गरेको कृषिजन्य वस्तुलाई विद्यालय, स्थानीय बजार वा सहकारीमार्फत बिक्री गर्न सकिन्छ। यसबाट प्राप्त आम्दानी सानो भए पनि यसले विद्यार्थीमा ठूलो आत्मविश्वास जगाउँछ—”म आफैं केही गर्न सक्छु” भन्ने सोच विकास हुन्छ। श्रमप्रतिको विश्वास, श्रमको मूल्य तथा महत्व र उद्यमशील मानसिकताको विकास सानै उमेरदेखि जगाउँछ।
यस अभियानलाई सार्थक र सफल बनाउन स्थानीय अनुभवी किसान, शिक्षक र विद्यार्थीबीचको सहकार्य अपरिहार्य हुन्छ, किनकि किसानहरूले आफ्नो व्यवहारिक ज्ञान र अनुभव विद्यार्थीहरूलाई हस्तान्तरण गर्न सक्छन्, शिक्षकले सैद्धान्तिक ज्ञानलाई सुदृढ बनाउँछन् र विद्यार्थीहरूले नयाँ सीपयुक्त ऊर्जा तथा सिर्जनात्मक सोच ल्याउँछन्। यस प्रकारको त्रिपक्षीय सहकार्यले कृषि क्षेत्रलाई जीवन्त र गतिशील बनाउन मद्दत गर्दछ। सुरुआतदेखि नै माटो परीक्षण, उन्नत बिउको प्रयोग, सन्तुलित मल व्यवस्थापन र आधुनिक सिँचाइ प्रणाली जस्तै ड्रिप वा स्प्रिङ्कलर (थोपा सिँचाइ) जस्ता विधि अपनाउँदा विद्यार्थीहरू वैज्ञानिक कृषि प्रणालीसँग परिचित हुन्छन्।
कृषिमा उत्पादनको साथसाथै बजार व्यवस्थापन पनि उत्तिकै महत्वपूर्ण हुन्छ। नेपालमा किसानहरूले भोग्दै आएको प्रमुख समस्या भनेकै उत्पादनको उचित मूल्य नपाउनु हो, जसको मुख्य कारण बिचौलियाको हाबी हुनु हो। यस्तो अवस्थालाई निराकरण गर्न विद्यालय तहबाटै विद्यार्थीहरूलाई उत्पादनदेखि बिक्रीसम्मको विधि–प्रक्रिया सिकाउनु पर्छ। विद्यालय क्षेत्रमै साप्ताहिक कृषि बजार सञ्चालन गरी उनीहरूले आफैं उत्पादन बेच्ने, मूल्य निर्धारण गर्ने र ग्राहकसँग व्यवहार गर्ने अभ्यास सिकाउन सकिन्छ। यसले उनीहरूलाई सानैदेखि व्यवसाय सञ्चालन गर्ने सीप र क्षमता सिकाउँछ।
यस किसिमको प्रणालीको प्रारम्भ, विस्तार र व्यवस्थापनको सम्पूर्ण प्रक्रियामा नगरपालिकाको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। पाइलट परियोजनाका लागि उपयुक्त विद्यालय छनोट गर्ने, आवश्यक बजेट र स्रोत–साधन उपलब्ध गराउने, कृषक र विद्यालयबीच समन्वय गर्ने तथा उत्पादनको बजार सुनिश्चित गर्ने जिम्मेवारी स्थानीय सरकारले लिनुपर्छ। सफल पाइलट परियोजनालाई क्रमशः वडागत रूपमा कृषिमा मात्र नभई अन्य सीपमूलक शिक्षा—अटोमोबाइल, पर्यटन, सूचना प्रविधि, संस्कृति–हस्पिटालिटी म्यानेजमेन्ट, हस्तकला जस्ता विधागत अध्यापनका लागि वडाको सम्भाव्यताको आधारमा विस्तार गर्दै सम्पूर्ण नगर क्षेत्रलाई क्रमागत हिसाबले “पढ्दै कमाउँदै”मा आधारित उत्पादनको नमूना “चाँगुनारायणको उत्पादन” भनेर ब्रान्डिङ गरी स्थानीय उत्पादनलाई बजारमा पहिचान स्थापित गराउन सकिन्छ।
आजको तीतो यथार्थ के हो भने, हाम्रो देशका धेरै युवा रोजगारीको खोजीमा विदेशिन बाध्य छन्। यसको सुधार र युवाको पलायनलाई न्यूनीकरणका लागि कम्तिमा पनि नगरपालिकाले विद्यार्थीहरूलाई सानैदेखि सीप, अनुभव र आम्दानीको अवसरलाई उपयोग गर्ने उपयुक्त वातावरण प्रदान गर्न सके उनीहरूमा आफ्नै ठाउँमा केही गर्ने आत्मविश्वास जगाउन सकिन्छ। यसले स्थानीयमै रोजगारी सिर्जना गर्छ, स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउँछ र दीर्घकालीन रूपमा देशको वित्तीय विकासमा योगदान पुर्याउँछ।
अन्ततः, चाँगुनारायणको कृषि रूपान्तरण त्यस्तो कुनै ठूलो नारा वा जटिल योजनाबाट मात्र सम्भव छ भनेर चिन्ता गर्नुपर्ने जस्तो लाग्दैन, बरु सकारात्मक इच्छाशक्ति नै पर्याप्त हुन्छ। किनभने यो सुरुमा एउटा विद्यालयबाट, केही उत्साही विद्यार्थीबाट र एउटा सानो खेती प्लटबाट थालनी गरौँ। यही सानो सुरुआतले ठूलो परिवर्तनको जग तयार गर्न सक्छ।
किताबसँग सीप जोड्ने, प्रविधिको ज्ञानसँग कमाइ जोड्ने अनि विद्यार्थीलाई सानैदेखि उद्यमी बनाउने सोच नै आजको आवश्यकता हो।
अन्त्यमा, चाँगुनारायण नगरपालिकाले “पढ्दै कमाउँदै” को यो अवधारणालाई व्यवहारमा उतार्न सफल भयो भने, यो नगरपालिकाको उपलब्धि मात्र हुनेछैन, देशकै लागि प्रेरणादायी नमूना बन्नेछ। अनि शिक्षा, कृषि, प्रविधि र उद्यमशीलताको समानान्तर तालमेल हुन सके समृद्ध भविष्य निर्माणले वास्तविक अनुभूति दिलाउनेछ।

