भक्तपुर । केदारनाथको शिरका रूपमा प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा सञ्चालन हुने श्रावणी मेला २०८३ को तयारीलाई तीव्र पारिएको छ। मेलालाई व्यवस्थित, सुरक्षित र सफल बनाउन भक्तपुरका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा सुरक्षा निकायका प्रमुख तथा सम्बन्धित सरोकारवाला निकायको सहभागितामा तयारी बैठक सम्पन्न भएको हो।
बैठकले असार २५ गते बिहान ७ बजेदेखि माइकिङमार्फत श्रावणी मेलाबारे सार्वजनिक सूचना प्रवाह गर्ने निर्णय गरेको छ। साथै, मेलाको बाँकी तयारीका सबै कामलाई तीव्र गतिमा अगाडि बढाउने, सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, ट्राफिक व्यवस्थापन, भीड नियन्त्रण, सरसफाइ, स्वास्थ्य सेवा, खानेपानी तथा भक्तजनको सहज आवागमन सुनिश्चित गर्न सम्बन्धित निकायबीच आवश्यक समन्वय गर्ने निर्णयसमेत गरिएको छ।
श्रावण महिनाभर देशका विभिन्न जिल्लाबाट हजारौँ भक्तजन डोलेश्वर महादेवको दर्शन गर्न आउने भएकाले कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्थालाई प्राथमिकतामा राखिएको जनाइएको छ। जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह तथा अन्य सरोकारवाला निकायले आ–आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व बोकेको श्रावणी मेलालाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गराउने तयारी अन्तिम चरणमा पुगेको बताइएको छ।