केदार अधिकारी / भक्तपुर। भक्तपुर जिल्लास्थित प्राचीन भक्तपुर नगरपालिकापश्चात् गठन भएका क्रमशः तीन नगरपालिकामध्ये चाँगुनारायण, मध्यपुर थिमी र सूर्यविनायक नगरपालिका मात्रै गाउँ विकास समितिबाट गाभिँदै गठन र स्थापना भएका तीन नगरपालिका छन् । भक्तपुर जिल्लास्थित समूल चारैवटा नगरपालिका प्राचीन प्राग्ऐतिहासिक महत्व, आ–आफ्नै छुट्टै खालको भू–बनावट र प्राकृतिक मनोरम दृश्य तथा भौगोलिक बनावट एवं जनजीविकाका सन्दर्भमा आ–आफ्नै खाले छुट्टै पहिचान र विशेषताले युक्त रहेका छन् ।
जसमध्ये भक्तपुर जिल्लास्थित भक्तपुर नगरपालिका बस्ती र भूगोलको दृष्टिकोणले अत्यन्त सानो क्षेत्रफलमा साँघुरिएको र बस्तीको हिसाबले नेपालभरमा नै घनाबस्तीका रूपमा विकास र विस्तार भएको अत्यन्त प्राचीननतम सहर हो । साथै, मल्लकालीन मठमन्दिर र वर्दहस्त कलाकारका कौशलले सिँगारिएको मठ, मन्दिर र चैत्यले सिँगारिएको नेवारी कला–संस्कृतिको भरपुर संगमस्थलका रूपमा आफ्नो चिनारी पहिचान कायम गर्न सफल नगरको रूपमा अवस्थित छ । पछि स्थापना र गठन भएका बाँकी तीनवटा नगरपालिकाका पनि आ–आफ्नै पहिचान, वैभव र भू–बनावटसहित कला–संस्कृति, वेशभूषा एवं ऐतिहासिक धरोहरलगायत छुट्टाछुट्टै विशेषता र पहिचान रहेका छन् ।
यहाँ चर्चा गर्न खोजिएको नगरपालिकामध्ये भक्तपुर जिल्ला साबिकको दुवाकोट, झौखेल, छालिङ, नगरकोट, सुडाल, बागेश्वरी एवं ताथली गाविसलाई समाहित गरी गठन र स्थापना भएको चाँगुनारायण नगरपालिकाको हो । साबिकका गाउँविकास समितिमा बसोबास गर्ने ६ वटा गाविस हालको रूपान्तरित चाँगुनारायण नगरपालिकाभित्र रहेका भौगोलक भू–बनावटका कारण वनजंगल, आवादी, समथर, पाखा एवं धानखेत र बारीमा रहेका उर्वर भू–बनावटको अगाध संगमस्थल रहेको अत्यन्त मेहनती, परिश्रमी कृषिकर्ममा आश्रित नागरिकको बाहुल्यता रहेको क्षेत्र हो ।
यसैगरी प्राकृतिक छटा, वनजंगल, ऐतिहासिक एवं प्राचीन धरोहर, विश्व मानचित्रमा नेपालको उत्पत्तिको इतिहास बोकेको चाँगुनारायण क्षेत्र र सँगसँगै रहेका ऐतिहासिक संग्रहालयको रूपमा रहेका मठमन्दिर एवं धार्मिक महत्व र कला–संस्कृतिले भरिएको सुडालमा अवस्थित महामञ्जुश्री (सरस्वतीस्थान) चैत्य तथा मठमन्दिर र चौँरीगाईको ऐतिहासिक प्रस्तरमा रहेका पाइलालगायत हिन्दूहरूको महादेव शिवस्वरूपमा विश्वमा कहीँ नभएको शिवस्वरूप महादेवको आकृति रहेको बालमिकेश्वरधाम बागेश्वरीमा रहेको छ ।
त्यहीँ अवस्थित ऐतिहासिक बागेश्वरीधाम तथा मणिकनीकाघाट र वनजंगल तथा हरियाफाँटले युक्त भई सिङ्गो भक्तपुर जिल्लामा बसोबास गर्ने जनसमुदायलाई उपयोग र उपभोग गर्न पर्याप्त हुने गरी खाद्यान्न, तरकारी, पशुचौपाया, पालनपोषण र खाद्यान्न तथा आवास निर्माणका लागि उपयुक्त छ । यसैगरी जैविक विविधताले भरिपूर्ण एवं ऐतिहासिक पर्वजात्रा सञ्चालन गर्न सल्लोको लिङ्गो उत्पादन गरी समर्पण गर्ने क्षमता भएका ताथलीको सल्लाघारीलगायत नगरकोट वनजंगल, जहाँ विश्वमा दुर्लभ मानिएका विभिन्न प्रजातिका चराचुरुङ्गी, बाघ, चितुवा, बँदेल तथा दुम्सीसमेतको सुरक्षित बासस्थान रहेको क्षेत्र छ, चाहे त्यो साबिक छालिङको वनजंगल किन नहोस्, चाहे नगरकोटको बालवन किन नहोस्, चाहे त्यो ताथलीस्थित पाल्तेको वन किन नहोस् । यसैगरी सूर्योदयको प्रथम रोशनी पर्ने नगरकोट क्षेत्र विश्वमा नै पर्यटकीय विशेषताले प्रचुर सम्भावना बोकेको र विश्वमा चिनाउन सफल क्षेत्र यही नगरपालिकाको भूगोलभित्र पर्छ । यस्ता अनगिन्ती प्राग्ऐतिहासिक कला–संस्कृति र मठमन्दिर एवं भौगोलिक बनावटका कारण पर्यटकीय र मनोरम क्षेत्रले भरिपूर्ण रहेको आख्यान र शास्त्रहरूमा व्याख्या गरिएको ‘भू–स्वर्गको टुक्रा’ हो, चाँगुनारायण नगरपालिका भक्तपुर ।
यस्तो भू–स्वर्गको टुक्रामा हाल लामो समयदेखि भू–बनावटको प्राकृतिक स्वरूप विकृत पार्ने केही स्वार्थ समूह र व्यक्तिहरूको निजी आय आर्जनका खातिर नीतिनियम प्रचलित कानुनको धज्जी उडाउँदै नवनिर्वाचित जनप्रतिनिधिहरूसमेत परोक्ष–अपरोक्ष रूपमा विविध दबाब वा प्रभाव वा के कारणले हो, यस्तो महŒव र धरोहर रहेको चाँगुनारायण नगरपालिकाअन्तर्गत विविध ठाउँमा गैरकानुनी रूपमा बालुवा, माटो उत्खननमा तँछाडमछाड गरी जग्गा–जमिनमा आश्रित कृषक परिवारलाई श्रम र उत्पादनबाट अलग्याई बाँच्नका लागि खाद्यान्न, तरकारीसमेत किनेर खानुपर्ने अवस्थामा पुर्याएका छन्, जसको प्रत्यक्ष असर उत्पादनमा परी त्यहाँ बसोबास गर्ने आमसमुदायको समृद्धिको चाहनामा तुसारापात हुन पुगेको छ ।
त्यसैले त यहाँ विकासले आशातीत फड्को र सफलता हासिल गर्न सकेको देखिँदैन । त्यसमा पनि विकासको अवधारणा वा चिन्तनमा आम जनप्रतिनिधिले व्यवहारमा विकासको पर्यायबिना लगानी उद्योगको रूपमा परिभाषित गरी बालुवा खानी सञ्चालन गर्न दिएको देखिन्छ । जहाँकहीँ, चाहे त्यो स्थानीय निकायको सवालमा होस्, चाहे त्यो प्रदेश र संघीय जनप्रतिनिधिको सवालमा होस्, जबर्जस्ती ढंगबाट परोक्ष–अपरोक्ष तवरबाट जननिर्वाचित प्रतिनिधिहरूले तत्कालै आर्थिक आम्दानीको माध्यम बनाई बिनालगानीको उद्योगको रूपमा नाफाको व्यवसाय बनाई आर्थिक उपार्जनको माध्यम बनाएको देखिन्छ ।
हेक्का रहोस्, जनप्रतिनिधिमूलक संस्था र त्यहाँ प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूको विकासे गतिविधिलाई मिहिन ढंगले अध्ययन–अनुसन्धान गर्ने हो भने जानेर वा नजानेर वा नीतिगत अस्पष्टताका कारणले होस् वा नियतवश नै, विकासलाई बिनालगानीको उद्योगका रूपमा परिचालन गर्ने बुझाइ र कार्यान्वयन पाटोले यही वास्तविक तथ्यलाई उजागार गरेको छ भनेर बाध्य भएर भन्नुपर्ने स्थिति छ । यी वास्तविक सत्यतथ्यलाई अनुसन्धान भएका अनगिन्ती विकासे कार्यबाट प्रमाणित पुष्टि भई जननिर्वाचित जनप्रतिनिधिहरू आर्थिक अपचलन भ्रष्टाचारजनित अपराध र कसुरमा मुद्दा दायर हुने क्रम बढ्दो रूपमा देखा परेको छ ।
जस्तै— उदाहरणका लागि, भरत ताल निर्माणको सन्दर्भको मुद्दा, त्यसै गरी काठमाडौँ उपत्यकाभित्रै पर्ने ललितपुरको गोदावरी नगरपालिका नगर प्रमुख, उपप्रमुखउपर चलेको भ्रष्टाचार मुद्दा; यी त केवल प्रकाशमा आएका प्रतिनिधिमूलक उदाहरण मात्रै हुन् भनेर अनुमान गर्न सकिन्छ । प्रकाशमा आएका अन्य मुद्दा र नआएका अनुसन्धानका दायराबाट हालसम्म जोगिन सफल रहेका सबै तहमा जनप्रतिनिधिहरूलाई छानबिनको दायरामा ल्याउने र छानबिन गर्ने हो भने ६० देखि ७५ प्रतिशतभन्दा माथिको बिन्दुमा जननिर्वाचित जनप्रतिनिधिहरू भ्रष्टाचारजनित आर्थिक अपराधमा छानबिन र अनुसन्धानको दायराभित्र नपर्लान् र दोषी करार नहोलान् भनी अनुमान गर्न जटिल र कठिन बन्न पुगेको छ ।
ऐतिहासिक र पर्यटकीय स्थानहरू क्रमशः यस रीतले नासिने, मासिने र भू–क्षयको भेलमा फस्ने टड्कारो स्थितिमा उन्मुख छन् । अन्ततः लामो समय बालुवा चोरी–निकासी तथा उत्खनन कार्यले निरन्तरता पाइरहने हो भने ऐतिहासिक धरोहर र पर्यटकीय तथा रमणीय स्थल चाँगुनारायण क्षेत्र उजाड र बन्जर भूमिमा रूपान्तरित भई कथाको पानामा सीमित नहोला भनी अनुमान गर्न कठिन हुँदैन ।
अर्कातर्फ विश्व समुदायको समेत ध्यान आकृष्ट गरी आफ्नो छुट्टै पहिचान र विशेषता कायम गर्न सफल भई संयुक्त राष्ट्र शैक्षिक वैज्ञानिक सांस्कृतिक संगठन (युनेस्को) १६ नोभेम्बर १९४५ का दिन गठित भएपश्चात् नै सो संगठनबाट नेपालका केही महत्वपूर्ण र प्राकृतिक एवम् सांस्कृतिक धरोहर मानी केही वर्षअगाडिदेखि विश्वसम्पदा सूचीमा हालसम्म समावेश भएका १० वटा सम्पदा क्रमशः स्वयम्भूनाथ स्तूप, पशुपतिनाथ मन्दिर, बौद्धनाथ मन्दिर, पाटन दरबार स्क्वायर, काठमाडौँ दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, चाँगुनारायण मन्दिर, लुम्बिनी, चितवन रष्ट्रिय निकुञ्ज र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन् । यी माथि उल्लिखित सम्पदाहरू केवल नेपाल र नेपालीको गौरव, सान र प्रतिष्ठाका विषय मात्रै नरही विश्व र विश्वभरका मानवका लागि ऐतिहासिक महत्व र सान, मान–प्रतिष्ठाको विषय भएका कारण नै हाल भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिकास्थित चाँगुनारायण मन्दिर युनेस्कोद्वारा सन् १९७९ अर्थात वि.सं. २०३५ देखि नै विश्व सम्पदा सूचीमा सूचीकृत विश्व समुदायको सम्पत्तिका रूपमा रहेको क्षेत्र हो ।
जहाँ केही वर्ष अगाडिदेखि लगातार बालुवा, माटो सम्याउने र उत्खनन गर्ने नाममा गैरकानुनी ढंगले बालुवा, माटो खानी सञ्चालन र दोहन भइरहँदा नेपाल सरकार र नेपाल सरकारका संवद्र्धन, संरक्षण गर्ने निकायहरू एकले अर्कोलाई जिम्मेवारी पन्छाई ‘लुट धन्दा’ लाई वैधता दिई कानुनी कठघरामा उभ्याई दण्ड र सजायको भागीदार बनाउनुको सट्टा मूकदर्शक र रमिते भएर बसेका हुन् भनेर भन्न र लेख्न बाध्य भइएको छ । तसर्थ, झन्डै जनताको दुईतिहाइ मतको प्रतिनिधित्वको परिणामस्वरूप बनेको अहिलेको सरकारले यसतर्फ आँखा खोली सो क्षेत्रको संरक्षण, संवद्र्धनको योजना तर्जुमा गरी अगाडि बढ्न कत्ति पनि विलम्ब नगरोस् ।
अन्यथा, कानुनी रूपमा नियन्त्रण र संरक्षणका लागि अधिकार, कर्तव्यले सम्पन्न स्थानीय निकायका जनप्रतिनिधि र सम्बन्धित सबै सरोकारवालाको आँखा बन्द हुने हो भने ऐतिहासिक धरोहर भू–उर्वरा शक्ति एवं पर्यटकीय स्थलको विश्वसम्पदासमेत संरक्षण नभई लोप भई अस्तित्व नै खतरामा नपर्ला, भू–स्वर्गको टुक्रा बन्जर र खण्डहरको क्रममा पुगी चाँगुनारायणबासीको अस्तित्व नै नगुम्ला भन्न सकिँदैन । तसर्थ, सो क्षेत्रको संरक्षण र संवद्र्धनको जिम्मेवारी र दायित्व कसैले लिनु नपर्ने वा पर्ने भए सो सम्बन्धमा समयमा नै खबरदारी गर्दै हाम्रा पुर्खाले संरक्षण गरी जोगाएको सो क्षेत्रको संरक्षण संवद्र्धनमा आजैबाट सुरु गरी भावी सन्ततिले सराप्ने कार्यबाट बचौँ, संंरक्षण र संवद्र्धनको अभियानमा जुटौँ, लागौँ ।

