भक्तपुरको सूर्यविनायक नगरपालिका ८ स्थित ऐतिहासिक डोलेश्वर महादेव मन्दिरको माथिल्लो तटीय क्षेत्रमा जथाभावी गरिएको प्लटिङका कारण बुधबारको वर्षाले स्थानीय त्रसित भएका छन्। वर्षाका कारण लेदो र हिलोमाटो बस्ती र घर–घरमा छिरेपछि स्थानीयहरूको जनजीवन प्रभावित भएको हो।
प्रेस सोसाइटीसँग कुराकानी गर्दै एक स्थानीय तेज बस्नेतले मध्यराति घरमा हिलो र लेदो छिरेपछि आफूहरू रातभर त्रासमा बाँच्न बाध्य भएको बताए। उनले भने, “वर्षा सुरु हुनु अगावै हाम्रो अवस्था यस्तो भइसकेको छ, मनसुन भित्रिँदै जाँदा हाम्रो बस्तीको अवस्था के होला? यो अवस्थामा सरोकारवाला निकायलाई हामीले बारम्बार कुरा राख्दा पनि उहाँहरूले हामीलाई उपेक्षा गर्दै समस्यालाई नजरअन्दाज गरिरहनुभएको छ। यसबारेमा स्थानीय तहदेखि संघीय सरकारको बेलैमा ध्यान जाओस् र छिटोभन्दा छिटो क्षति न्यूनीकरणका लागि पहल गरोस्।”

