ईट्टा भट्टादेखि जग्गा एकीकरण छानबिनको एजेन्डा लिएर प्रधानमन्त्रीसँग भेट: रुकेश रंजितले उठाए १२ बुँदे प्रमुख मुद्दा

राजनीति समाचार
0Shares

प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको भेटघाटका क्रममा माननीय रुकेश रंजितले भक्तपुरको समग्र विकास, पूर्वाधार सुधार तथा सांस्कृतिक संरक्षणसँग सम्बन्धित १२ वटा महत्वपूर्ण विषयहरू प्रस्तुत गरेका छन्। सोमबार बागमती प्रदेशका सांसदहरूसँग भएको छलफलमा उनले आफ्नो क्षेत्रका मुख्य चुनौतीहरूबारे ध्यानाकर्षण गराएका हुन्।

रंजितले ख्वप विश्वविद्यालय सम्बन्धी विधेयक तत्काल ल्याउन, दुवाकोटमा प्रस्तावित वीर अस्पतालको डीपीआर अगाडि बढाउन तथा महादेव खोला बहुउद्देश्यीय खानेपानी आयोजनामा बजेट विनियोजन गर्न माग गरे। त्यस्तै, स्मार्ट सिटी योजना खारेज गर्न, भक्तपुर औद्योगिक क्षेत्रलाई क्राफ्ट भिलेजको रूपमा विकास गर्न र मापदण्ड विपरीत सञ्चालनमा रहेका ईट्टा भट्टा बन्द गर्न पनि उनले जोड दिएका छन्।

यसैगरी, सल्लाघारीमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र स्थापना, नेपाल इन्जिनियरिङ कलेजको समस्या समाधान, युटिलिटी करिडोर सम्बन्धी कानुन पारित तथा उधारो रकम उठाउने विधेयक ल्याउनुपर्ने माग पनि राखिएको छ।

संस्कृति संरक्षणतर्फ नवदुर्गा मन्दिर तथा देवगणको नाचजात्रा जोगाउन अक्षयकोष स्थापना गर्नुपर्ने उल्लेख गरिएको छ। साथै, भक्तपुर नगरपालिकाले सञ्चालन गरेका जग्गा एकीकरण आयोजनामा नीतिगत भ्रष्टाचार भएको आशंकासहित छानबिन गर्नुपर्ने माग उनले गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *