भक्तपुर। बिस्केट जात्रा (बिस्का)को आज चौथो दिन सोमबार बिहान भक्तपुरको पोटरी स्क्वायरमा हात नभएको ल्योसिंद्य (लिंगो) उभ्याइएको थियो भने साँझ भक्तपुर नगरपालिका वडा नं. ५ स्थित ल्योसिंखेलमा करिब ५५ हात लामो ल्योसिंद्य ठड्याइएको छ। परम्पराअनुसार ल्योसिंखेलको लिंगो वैशाख १ गते ढालिनेछ भने पोटरी स्क्वायरको लिंगो बैशाख ५ गते मात्र ढालिने चलन छ।
जात्रा अवलोकन गर्न आज दिनभर हजारौँ भक्तजन तथा दर्शकको घुइँचो लागेको थियो। भक्तपुरसँगै मध्यपुर थिमि, काठमाडौं, ललितपुर र काभ्रे लगायत स्थानबाट सर्वसाधारण सहभागी भएका थिए। आठ रात नौ दिनसम्म चल्ने यस जात्राको मुख्य आकर्षण नै ल्योसिंद्य उठाउने र ढाल्ने परम्परा हो। सांस्कृतिक, ऐतिहासिक र धार्मिक महत्व बोकेको बिस्केट जात्राले स्थानीय समुदायबीच एकता र उत्साह झन् बढाएको छ।

