सुर्यविनायकको प्राणी उद्यानबारे सभासदको चासो, राष्ट्रिय प्रकृति संरक्षण कोषसँग वार्ता

राजनीति समाचार
0Shares

भक्तपुर। सूर्यविनायक नगरपालिका–६ मा निर्माण प्रस्तावित राष्ट्रिय प्राणी उद्यानको सिलान्यास भएको १२ वर्षभन्दा बढी बितिसक्दा पनि परियोजना अझै अघि बढ्न सकेको छैन। २०७० सालमा राष्ट्रिय गौरवको आयोजनाका रूपमा घोषणा गरी सुरु गरिएको यो परियोजना लामो समयदेखि स्थिर अवस्थामा अड्किएको भन्दै स्थानीयवासीमा चर्को असन्तुष्टि बढ्दै गएको छ।

स्थानीयका अनुसार प्रारम्भमा प्राणी उद्यान निर्माणले पर्यटकीय आकर्षण बढाउने र क्षेत्रीय आर्थिक विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको थियो। तर दशकभन्दा बढी समय बित्दा पनि कुनै ठोस प्रगति नदेखिएको उनीहरूको गुनासो छ। “सिलान्यास हुँदा निकै उत्साह थियो, तर अहिलेसम्म एउटा इट्टासमेत थपिएको देख्न पाएका छैनौं,” एक स्थानीयले बताए।

परियोजना ढिलाइ हुनुमा संरचना निर्माण, बजेट व्यवस्थापन तथा प्राविधिक पक्षमा देखिएको कमजोरी मुख्य कारण रहेको बताइएको छ। साथै, सरोकारवाला निकायबीच समन्वय अभाव र प्राथमिकतामा नपर्नु पनि काम अघि नबढ्नुको कारण मानिएको छ।

यसैबीच भक्तपुरका सभासद रुकेश रञ्जित र राजिव खत्रीले प्राणी उद्यानको अवस्था र सम्भावनाबारे राष्ट्रिय प्रकृति संरक्षण कोषका पदाधिकारीहरूसँग छलफल गरेको समाचार सार्वजनिक भएको छ। स्थानीयले भने अब ढिलासुस्ती अन्त्य गर्दै परियोजना कार्यान्वयनमा ठोस पहल गर्न सरकारसँग माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *