बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता समेत रहेका शाह झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनले निर्वाचन कार्यालयमा बुझाएको विवरणअनुसार चुनावी अभियानमा कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।
विवरणअनुसार १५ दिनको अवधिमा दुई वटा सवारीसाधन भाडामा लिन २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च भएको छ, जसमा इन्धन खर्च समेत समावेश गरिएको छ। पाँच पटकको हवाई यात्रामा ३५ हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ भने मतदाता प्रशिक्षण कार्यक्रमका लागि खाजा खर्चमा २८ हजार ९७० रुपैयाँ खर्च गरिएको छ।
यसैगरी वडास्तरीय प्रचार कार्यक्रम सञ्चालन गर्न ५ लाख ८० हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ। नमूना मतपत्र छपाइमा ४९ हजार ८५० रुपैयाँ खर्च भएको छ भने निर्वाचन कार्यालयमा दुई महिनासम्मको पानी खर्च १ लाख २० हजार रुपैयाँ रहेको छ।
त्यसैगरी स्टेसनरी सामग्रीमा २२ हजार ८२० रुपैयाँ, झण्डा र ब्याचसहितका प्रचार सामग्री छपाइमा १ लाख ५७ हजार ४१ रुपैयाँ तथा ब्यानर र स्टिकरमा १ लाख १९ हजार ८०८ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ। मनोनयन दर्ता गर्दा १० हजार रुपैयाँ खर्च भएको जनाइएको छ।


