- उपेन्द्र केसी
एमाले अध्यक्ष केपी शर्मा ओलीको मन्त्रणापछि सक्रिय राजनीतिमा पुनः फर्किएका कांग्रेस सभापति शेरबहादुर देउवा आज इतिहासको एक अत्यन्तै संवेदनशील मोडमा आइपुगेका छन्। जीवनको उत्तरार्धमा उभिएका देउवाका निर्णयहरूले अब केवल उनको व्यक्तिगत राजनीतिक विरासत मात्र होइन, सिंगो नेपाली कांग्रेसको भविष्यसमेत दाउमा परेको स्पष्ट देखिन थालेको छ। यदि वर्तमान बाटो परिवर्तन भएन भने देउवाको नाम कांग्रेस फुटको कलंकसँगै इतिहासमा दर्ज हुने जोखिम गहिरिँदै गएको छ।
ओलीको लहैलहैमा लागेर जेन–जी आन्दोलनले उठाएका लोकतान्त्रिक सुधार, सुशासन र राजनीतिक रूपान्तरणका मागलाई नजरअन्दाज गर्दै अघि बढ्नु गम्भीर राजनीतिक भूल हो। यो कदम लोकतन्त्रका लागि मात्र होइन, कांग्रेसको दीर्घकालीन अस्तित्वका लागि पनि आत्मघाती सावित हुन सक्छ। देउवाले नियमित महाधिवेशनको नाममा देखाएको हठ संगठन सुदृढीकरणभन्दा बढी व्यक्तिगत र गुटगत स्वार्थसँग जोडिएको देखिन्छ, जसले पार्टीभित्र असन्तोष र विभाजनको बीउ रोपिरहेको छ।
समयअनुसार संगठनलाई परिमार्जन र नवीकरण गर्नु नेतृत्वको मुख्य दायित्व हो। तर देउवाको शैली यथास्थितिवादमा अडिएको छ। यसले उनको उमेर समूहका केही नेताहरूको राजनीतिक भविष्य त सुरक्षित गर्ला, तर कांग्रेसलाई नयाँ पुस्तासँग जोड्न र समयको मागअनुसार रूपान्तरण गर्न असफल बनाउने निश्चित छ। आजको कांग्रेस नेतृत्व, विचार र कार्यशैलीमा आमूल परिवर्तन खोजिरहेको छ, तर देउवाको नेतृत्व त्यसको विपरीत दिशामा उन्मुख देखिन्छ।
लोकतन्त्रको नाममा केपी ओली र शेरबहादुर देउवाले विगत ३०–३५ वर्षसम्म देशको शासन चलाए। उनीहरू पटक–पटक प्रधानमन्त्री बने, तर परिणामस्वरूप देशले संस्थागत भ्रष्टाचार, अनियमितता र कुशासन बाहेक के पायो भन्ने प्रश्न अझै अनुत्तरित छ। राज्यलाई बेरोजगार उत्पादन गर्ने कारखानाजस्तो बनाइयो, युवाहरूलाई +२ पछि नै विदेशिन बाध्य पारियो, र राज्यका हरेक अंगमा ‘सेटिङ’को संस्कृति विकास गरियो। यसले लोकतन्त्रकै छवि बदनाम बनाएको कटु यथार्थ कसैबाट लुकेको छैन।

