नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ ले पार्टीको दोस्रो ऐतिहासिक विशेष महाधिवेशन आयोजना हुने विषयमा प्रेस विज्ञप्ति जारी गर्दै महाधिवेशन प्रतिनिधिहरूलाई सक्रिय सहभागिताका लागि आह्वान गरेको छ।
क्षेत्रीय सभापति भेषबहादुर कार्कीले जारी गरेको विज्ञप्तिमा नेपाली कांग्रेस नेपालको लोकतान्त्रिक आन्दोलनको मूल धार भएको उल्लेख गर्दै निरंकुशता, अस्थिरता र राजनीतिक संकटका प्रत्येक मोडमा पार्टीले ऐतिहासिक जिम्मेवारी निर्वाह गर्दै आएको जनाइएको छ। विज्ञप्तिमा गत भदौ २३ र २४ गते भएको जेञ्जी आन्दोलनपछि उत्पन्न संवैधानिक जटिलता र राजनीतिक अन्योल समाधानका लागि सशक्त, स्पष्ट र एकीकृत नेतृत्व आवश्यक रहेको उल्लेख गरिएको छ।
विज्ञप्ति हेर्नुहोस :

यसै सन्दर्भमा पार्टीलाई समयसापेक्ष रूपमा रूपान्तरण गर्ने उद्देश्यले दोस्रो ऐतिहासिक विशेष महाधिवेशन आयोजना गर्न लागिएको विज्ञप्तिमा भनिएको छ। बहुमतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको विधिवत् माग तथा पार्टी विधानअनुसार आगामी २०८२ साल पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन सम्पन्न हुने जानकारी दिइएको छ।
विज्ञप्तिमा उक्त विशेष महाधिवेशनले पार्टीको भावी दिशा तय गर्नुका साथै लोकतन्त्रलाई नयाँ ऊर्जा दिने ऐतिहासिक निर्णयहरू गर्ने विश्वास व्यक्त गरिएको छ। साथै राजधानी काठमाडौंमा उपस्थित सम्पूर्ण प्रतिनिधिहरूलाई स्वागत गर्दै महाधिवेशन भव्य, मर्यादित र सफल हुने अपेक्षा गरिएको छ।

