काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको लागि तयारी रहन निर्देशन गरेका छन । शनिबार आयोजित एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुक ढिलोचाँडो निर्वाचनमा जानैपर्ने भएकाले सिंगो पार्टी पङ्क्तिलाई तयारीमा अवस्थामा रहन आह्वान गरेका हुन्। अध्यक्ष ओलीले सरकारले अझैसम्म निर्वाचनको सुनिश्चितता र निर्भय वातावरण बनाउन नसकेको भन्दै असन्तुष्टि जाहेर गरे रओलीले निर्वाचनको वातावरण बिथोल्न राजनीतिक दलका नेताहरूमाथि विभिन्न लाञ्छना लगाउने, आरोप लगाउने र फसाउने प्रयास भइरहेको दाबी गरे।
भयरहित वातावरण बनाउन सरकार असफल भएको आरोप लगाउँदै उनले फागुन २१ गतेका लागि तय भएको निर्वाचनलाई विभिन्न बहानामा सार्ने खेल भइरहेको भन्दै सचेत गराए। उनले निर्वाचनका विषयमा गरिने निर्णयहरू स्वेच्छाचारी ढङ्गले नभई न्यूनतम राजनीतिक सहमतिका आधारमा हुनुपर्नेमा जोड दिएका छन्।निर्वाचन प्रक्रियाका बारेमा बोल्दै ओलीले चरणबद्ध रूपमा निर्वाचन गर्ने कुरा एमालेलाई स्वीकार्य नहुने स्पष्ट पारे।

