भक्तपुर कांग्रेस नियमित महाधिवेशनमै अडिग, विशेष महाधिवेशनका लागि हस्ताक्षर नगरेको दाबी

समाचार
0Shares

भक्तपुर । नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले २७ र २८ गते हुने भनिएको विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षर संकलनमा भक्तपुर जिल्लाका कांग्रेस नेता–कार्यकर्ताले हस्ताक्षर नगरेको दाबी गरेका छन्। सोमबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले जिल्लाका ७५ प्रतिशतभन्दा बढी महाधिवेशन तथा महासमिति सदस्यहरू नियमित महाधिवेशनको पक्षमा रहेको स्पष्ट पारे।

“भक्तपुर जिल्लामा ८२.५ प्रतिशत क्रियाशील सदस्यको नवीकरण सम्पन्न भइसकेको छ भने थप २५ प्रतिशतभन्दा बढी नयाँ क्रियाशील सदस्यता वितरण गरिएको छ।” सभापति थापाले भने।  उनले संगठन सुदृढीकरणमा जिल्ला समिति सक्रिय रूपमा लागिरहेको उल्लेख गर्दै कांग्रेस कमजोर भएको भन्ने प्रचार निराधार रहेको बताए।सामाजिक सञ्जालमा पुराना दललाई गाली गर्दै कुनै स्पष्ट एजेन्डाबिना विभिन्न उम्मेदवारहरू अघि सारिएको भन्दै सभापति थापाले नेपाली कांग्रेसका उम्मेदवार देखिएनन् भन्ने अफवाह फैलाइएको आरोप लगाए। उनले यस्ता प्रचारको पछाडि नियोजित उद्देश्य रहेको दाबी गर्दै कांग्रेस संगठनात्मक रूपमा बलियो रहेको बताए।

थापाले भक्तपुर क्षेत्र नं. १ मा सर्वसम्मत उम्मेदवार चयन भइसकेको र क्षेत्र नं. २ मा पनि सहमतिका आधारमा नाम सिफारिस गरिसकेको जानकारी दिए। साथै भक्तपुरबाट गणेशमान चक्रधर, विनोद कायस्थ र गंगा लक्ष्मी अवाल समानुपातिक बन्दसूचीमा परेको जानकारी गराए। राष्ट्रिय सभामा पनि भक्तपुरबाट प्रतिनिधित्व हुनुपर्ने निर्णय जिल्ला कार्यसमितिले गरिसकेको उनले बताए।

पत्रकार सम्मेलनमा सभापति थापाले नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यालय भवनको उद्घाटन र पार्टी महाधिवेशनको उद्घाटन सँगसँगै अघि बढाइने जानकारी दिँदै, देश गम्भीर मोडमा उभिएको बेला कांग्रेस एकढिक्का भएर अघि बढिरहेको बताए। आवश्यक परे गठबन्धन गर्न सकिने भए पनि कांग्रेस सबै दलसँग एक्लै लड्न सक्षम रहेको उनको भनाइ थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *