रामहरि चौलागाईं/ भक्तपुर। भक्तपुर चेम्बर अफ कमर्सले जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूको सम्मानमा मंगलबार साँझ विशेष कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा नवनिर्वाचित सांसदहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष कमलेशकुमार अग्रवाल प्रमुख अतिथिका रूपमा सहभागी थिए। भक्तपुरका दुई निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ विजयी र समानुपातिकतर्फ चयन भएका गरी पाँच जना सांसदलाई सम्मान गरिएको थियो, यद्यपि एक जना समानुपातिक सांसद उपस्थित हुन सकेनन्।
कार्यक्रममा क्षेत्र नं. १ का सांसद रुकेश रञ्जित र क्षेत्र नं. २ का सांसद राजीव खत्रीले जिल्लाको विकासमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए। समानुपातिक सांसदहरू मदनकृष्ण श्रेष्ठ, डा. गंगालक्ष्मी अवाल र कुसुम महर्जनले पनि धारणा राखेका थिए।
कार्यक्रमको अध्यक्षता चेम्बरका अध्यक्ष सुरेन्द्र श्रेष्ठले गरेका थिए। व्यवसायीहरूले आफ्ना समस्या र चुनौतीबारे सांसदहरूको ध्यानाकर्षण गराउँदै समाधानका लागि पहल गर्न आग्रह गरेका थिए।
समापनमा नेवारी संस्कृतिअनुसार धौ र ऐलाबाट अतिथिहरूलाई सम्मान गरिएको थियो।

