एसईई नतिजामा सुधार, गत वर्षभन्दा ४.१७ प्रतिशत वृद्धि

समाचार
0Shares

राष्ट्रिय परीक्षा बोर्डले सोमबार माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यो गत वर्षको तुलनामा ४.१७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । यसपटक २ लाख ८४ हजार १६० जना विद्यार्थी ग्रेडेड भएका छन् भने १ लाख ४६ हजार ५०७ जना ननग्रेडेड भएका छन् ।

सरकारले परीक्षा सकिएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने घोषणा गरेअनुसार बोर्डले परीक्षा सम्पन्न भएको २९ दिनमै नतिजा सार्वजनिक गरेको हो । परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था मिलाइएकाले नतिजा छिटो प्रकाशन गर्न सम्भव भएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार ३.६ देखि ४ जिपिए ल्याउने ८ हजार ३९२ जना विद्यार्थी रहेका छन् । त्यस्तै ३.२ देखि ३.६ जिपिए ल्याउने ८० हजार ३७२ जना, २.८ देखि ३.२ जिपिए ल्याउने ९४ हजार २२२ जना तथा २.४ देखि २.८ जिपिए ल्याउने ५५ हजार ९७७ जना विद्यार्थी रहेका छन् । यसैगरी २ देखि २.४ जिपिए ल्याउने ५ हजार १९० जना तथा १.६ देखि २ जिपिए ल्याउने ७ जना विद्यार्थी रहेको बोर्डले जनाएको छ ।

चैत २९ गते सम्पन्न एसईई परीक्षामा देशभरका १ हजार ९ सय ६६ परीक्षा केन्द्रबाट ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए । सहभागीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र तथा ७ जना अन्य विद्यार्थी रहेका थिए । देशभर १ हजार ९ सय ६६ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *