एकताको महाधिवेशनपछि एमालेमा देखियो दुई लाइन संघर्ष, आसन्न निर्वाचनमा असर हुने आशंका

समाचार
0Shares

काठमाडौँ । नेकपा एमालेमा ११औँ महाधिवेशनपछि दुई लाइन संघर्ष बढ्दै गएको छ। पार्टीले महाधिवेशनलाई एकताको महाधिवेशन भने पनि त्यसपछिका गतिविधिले अध्यक्ष केपी शर्मा ओली र नेता ईश्वर पोखरेल समूहबीच वैचारिक तथा संगठनात्मक तानातान स्पष्ट देखिन थालेको छ।

महाधिवेशनमा ओली पक्षले स्पष्ट बहुमतसहित नेतृत्व कब्जा गरे पनि पोखरेल समूहले पार्टीभित्र लोकतान्त्रीकरण, सामूहिक नेतृत्व र फरक मतको सम्मानजस्ता मुद्दा उठाउँदै आएको छ। महाधिवेशन सकिएलगत्तै अध्यक्ष ओलीले असन्तुष्टि भए पार्टीभित्रै राख्न निर्देशन दिएका थिए। तर त्यसको भोलिपल्टै पोखरेल पक्षले छुट्टै भेला गरेर आफ्नो असन्तुष्टि सार्वजनिक संकेतमार्फत व्यक्त गर्‍यो।

राजनीतिक विश्लेषकहरूका अनुसार यो अवस्था तत्काल पार्टी विभाजनतर्फ जाने संकेत होइन, तर शक्ति सन्तुलन र नेतृत्व शैलीलाई लिएर असहजता बढ्दै गएको हो। राजनीतिक शास्त्रका जानकार लोकराज बरालका अनुसार नेतृत्वको निर्देशन सबैले निर्विवाद रूपमा स्वीकार्ने अवस्था कमजोर हुँदै गएको छ।

ओली पक्षका नेताहरू महाधिवेशनको निर्णय अन्तिम र बाध्यकारी हुने तर्क गर्दै आएका छन् भने पोखरेल समूह आत्मसमर्पण होइन, आत्मसम्मान आवश्यक रहेको बताउँदै फरक मतलाई दबाउन नहुनेमा जोड दिइरहेका छन्।

आसन्न प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा एमालेभित्रको यो दुई लाइन संघर्ष समयमै व्यवस्थापन हुन नसके यसको असर पार्टीको संगठन र चुनावी प्रदर्शनमा देखिन सक्ने नेताहरूको चिन्ता छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *