काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई नै पराजित गर्ने चाहना व्यक्त गरेका छन्। बालेनसँग निकट सम्पर्कमा रहेका एक नेताका अनुसार, “ओलीलाई नहराइकन त चुनाव जितेको मज्जा हुँदैन” भन्ने कुरा बालेनले आफ्ना विश्वासपात्रहरूसँग पटक–पटक दोहोर्याउँदै आएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग हालै भएको लामो भेटवार्तापछि बालेनको राजनीतिक आकांक्षा झन् स्पष्ट हुँदै गएको नेताहरूको विश्लेषण छ। यद्यपि उनले अहिलेसम्म औपचारिक रूपमा चुनाव लड्ने वा नलड्ने घोषणा गरेका छैनन्। कहिले संसदीय राजनीतिमा होमिने संकेत गर्ने त कहिले काठमाडौं महानगरको कार्यकाल पूरा गर्ने बताउने उनको दोधार अझै कायम छ।
निकट स्रोतका अनुसार बालेनको मुख्य लक्ष्य “पुरानै राजनीतिक प्रवृत्तिको अन्त्य” गर्नु हो, जसको प्रतीकका रूपमा उनी केपी ओलीलाई हेर्छन्। “उहाँलाई लाग्छ, देशको राजनीतिमा वास्तविक परिवर्तन देखिन ओलीजस्ता शक्तिशाली र स्थापित नेतासँग प्रत्यक्ष भिड्नैपर्छ,” ती नेताले बताए।
बालेन शाहको घर काठमाडौं क्षेत्र नम्बर २ मा रहे पनि उनी कुन निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने भन्ने टुंगो लागिसकेको छैन। झापा पुगेर ओलीकै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्ने विषयलाई उनले ‘राजनीतिक चुनौती’ र ‘नैतिक सन्तुष्टि’ दुबैका रूपमा लिएको बुझाइ छ।
रास्वपा नेताहरूका अनुसार, रवि लामिछाने र बालेन शाहबीच भएको पछिल्लो छलफलले भविष्यमा चुनावी सहकार्य र सत्ता सञ्चालनबारे नयाँ सम्भावनाका ढोका खोलेको छ। तर रवि लामिछाने स्वयंले भने अहिले नै प्रधानमन्त्री वा उम्मेदवारको विषयमा सहमति भइसकेको दाबीलाई अस्वीकार गर्दै “एकअर्कालाई बुझ्ने चरणमै छौं” भन्ने प्रतिक्रिया दिएका छन्।
राजनीतिक वृत्तमा भने बालेनको “ओलीलाई हराउने” चाहनाले आगामी निर्वाचनको समीकरण थप रोचक बन्ने संकेत देखिन थालेको छ।

