नेमकिपाको किल्ला भक्तपुर–१ मा ऐतिहासिक जित निकाल्न सफल रुकेश रंजित को हुन् ?

राजनीति समाचार
0Shares

भक्तपुर — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रुकेश रञ्जितले भक्तपुर–१ मा ऐतिहासिक विजय हासिलगर्न सफल भएका छन्। उनले ३३ हजार ४ सय ३६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का प्रेम सुवालले २८ हजार १ सय ४७ मत पाएका छन्। रञ्जितले सुवाललाई ५ हजार २ सय ८९ मतान्तरले पराजित गर्दै नेमकिपाको किल्ला मानिएको क्षेत्रमै जित निकालेका हुन्।

२०३६ साउन ४ मा भक्तपुरको नासमनामा जन्मिएका रञ्जित पेशाले इलेक्ट्रोनिक्स व्यवसायी हुन्। उनले २०५४ सालमा अनेरास्ववियु मार्फत विद्यार्थी राजनीति सुरु गरेका थिए। त्यसबेला उनी भक्तपुर बहुमुखी क्याम्पस मा स्ववियुको उपसभापति पदका उम्मेदवार बनेका थिए।

व्यवसायसँगै सामाजिक अभियानमा सक्रिय रञ्जित विगत १४ वर्षदेखि भक्तपुर इलेक्ट्रोनिक व्यवसायी संघ मा आबद्ध छन्। साथै लायन्स क्लब र ब्लड डोनर एसोसिएसन मार्फत पनि सामाजिक सेवामा सक्रिय छन्।

भारतको विनायक मिसन युनिभर्सिटीबाट एमबीए गरेका रञ्जित हाल नेपाल कमर्स क्याम्पस, मीनभवनमा एमबीएस अध्ययनरत छन्। उनी भक्तपुर उद्योग वाणिज्य संघ का वर्तमान महासचिव पनि हुन्।

२०८० सालतिर रास्वपा प्रवेश गरेका रञ्जित नगर सचिव हुँदै क्षेत्रीय सभापति र जिल्ला सचिव बनेका थिए। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनले अन्ततः भक्तपुर–१ मा ऐतिहासिक जित दर्ता गराएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *