बंगलादेशमा राजनीतिक हिंसा चर्किँदै: विद्यार्थी नेता हादीपछि एनसीपी नेता सिकदरको गोली हानी हत्या

अन्तराष्ट्रिय
0Shares

बंगलादेशमा राजनीतिक हिंसा फेरि चर्किएको छ। इन्कलाब मञ्चसँग सम्बन्धित विद्यार्थी नेता उस्मान हादीको हत्यापछि अब राष्ट्रिय नागरिक पार्टी (एनसीपी) का नेता मोतेलेब सिकदरको सार्वजनिक स्थानमै गोली हानी हत्या गरिएको छ। ढाका ट्रिब्यूनका अनुसार एनसीपी खुलना डिभिजन प्रमुख तथा श्रमिक शक्तिका केन्द्रीय संयोजक सिकदरलाई सोमबार बिहान करिब ११:४५ बजे खुलनाको सोनाडाङ्गा क्षेत्रमा अज्ञात आक्रमणकारीले गोली हानेका थिए। गम्भीर घाइते अवस्थामा उनलाई खुलना मेडिकल कलेज अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा मृत्यु भएको हो।

यसअघि डिसेम्बर १२ मा ढाकामा मस्जिदबाट बाहिर निस्कने क्रममा विद्यार्थी नेता उस्मान हादीमाथि गोली प्रहार भएको थियो। टाउकोमा गोली लागेर गम्भीर घाइते भएका हादीको सिंगापुरमा उपचारका क्रममा डिसेम्बर १८ मा मृत्यु भएको हो।

यी घटनाले बंगलादेशमा विद्यार्थी विद्रोहपछि उत्पन्न राजनीतिक अस्थिरतालाई थप गहिरो बनाएको छ। विद्यार्थी आन्दोलनकै दबाबपछि पूर्वप्रधानमन्त्री शेख हसिनाले देश छाडेपछि हिंसात्मक गतिविधि बढ्दै गएको विश्लेषण गरिएको छ। प्रहरीले दुवै घटनाको अनुसन्धान जारी रहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *