मुगु जिल्लामा फैलिएको इन्फ्लुएन्जा (भाइरल ज्वरो) को प्रकोप दिनप्रतिदिन गम्भीर बन्दै गएको छ। बढ्दो सङ्क्रमण र कमजोर स्वास्थ्य सेवाका कारण स्थिति नियन्त्रणबाहिर जान सक्ने भन्दै स्थानीय युवाहरूले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीसमक्ष तत्काल आपतकालीन हस्तक्षेपको माग गरेका छन्।
स्थानीय युवा आशिष देवकोटा नेतृत्वमा गएको समूहले संक्रामक रोग विशेषज्ञसहितको चिकित्सक टोली तुरुन्त मुगु पठाउन माग गरेको हो। उनीहरूका अनुसार हाल मुगु जिल्ला अस्पतालमा दैनिक २०० भन्दा बढी इन्फ्लुएन्जा सम्बन्धी बिरामी उपचारका लागि पुगिरहेका छन्। तर अस्पतालमा जम्मा ५० शय्या मात्र उपलब्ध छन्। लामो समयदेखि एक्सरे मेसिन बिग्रिएको, आवश्यक औषधि तथा मेडिकल उपकरणको अभाव रहेको र अक्सिजन प्लान्टसमेत सञ्चालनमा नरहेकोले गम्भीर बिरामीको उपचारमा ठूलो समस्या भइरहेको छ।
प्रकोपकै बीच पछिल्लो १७ दिनमा राराछायानाथ नगरपालिका–१२, बाम गाउँमा मात्रै पाँच जनाको मृत्यु भइसकेको छ। मृतकमध्ये शिशु र साना बालबालिका पनि रहेका छन्। यस्तो गम्भीर अवस्थासमेत केन्द्र सरकारको प्रभावकारी उपस्थिति नदेखिएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्।
युवाहरूले २४ घण्टाभित्र विशेषज्ञ चिकित्सक टोली पठाउन, अक्सिजन प्लान्ट र एक्सरे मेसिन मर्मत वा प्रतिस्थापन गर्न, पर्याप्त औषधि आपूर्ति गर्न र अस्पतालको क्षमता आईसीयू सेवासहित कम्तीमा १०० शय्यामा विस्तार गर्न माग गरेका छन्। समयमै हस्तक्षेप नगरे ठूलो मानवीय क्षति दोहोरिन सक्ने चेतावनीसमेत उनीहरूले दिएका छन्।

