काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले जेन–जी आन्दोलनसँग सम्बन्धित घटनाबारे काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँग बयान लिएको छ। भदौ २३ र २४ गते भएका घटनाको छानबिनका सिलसिलामा आयोगको बोलावटमा शाह सोमबार आयोग पुगेका हुन्।
आयोग स्रोतका अनुसार करिब दुई घन्टासम्म चलेको बयानका क्रममा आन्दोलनका दिन शाह कहाँ थिए, सामाजिक सञ्जालमार्फत दिएका अभिव्यक्ति, सिंहदरबार जलाउने प्रसंग, महानगरपालिकाको सुरक्षा व्यवस्था तथा दमकल ढिलो पुगेको विषयमा विस्तृत प्रश्न गरिएको थियो। शाहले दिएको जवाफ सार्वजनिक गर्न नमिल्ने भएकाले विवरण खुलाउन नसकिएको आयोगले जनाएको छ।
भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनका क्रममा मानव अधिकार हनन र दमनसम्बन्धी विषयमा आयोगका सदस्य लिली थापाको संयोजकत्वमा गठित समितिले छानबिन गरिरहेको छ। आयोगका अनुसार हालसम्म १४६ जनाको बयान लिइसकिएको छ।
आन्दोलनका क्रममा भएको मानव अधिकार हनन, प्रहरीको बल प्रयोग, पारदर्शिता र जवाफदेहिता तथा दण्डहीनताका विषयलाई आधार बनाएर छानबिन भइरहेको र प्रक्रिया अन्तिम चरणमा पुगेको आयोगका सहसचिव तथा प्रवक्ता डा. टिकाराम पोखरेलले जानकारी दिए।

