ओलीले लगाएको गुणकै कारण आफ्नो जिउमा ठाउँ ठाउँमा किला ठोकेको महशुस गरिरहेको छु : रास्वपा सभापति रवि लामिछाने

समाचार
0Shares

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएको ‘गुन’ सम्बन्धी अभिव्यक्तिप्रति तीखो प्रतिक्रिया दिएका छन्। सोमबार काठमाडौँ जिल्ला अदालतमा मुद्दाको तारिख बुझ्न पुगेका लामिछानेले ओलीले टेलिभिजन अन्तर्वार्तामा दिएको टिप्पणीको जवाफ दिँदै आफू ओलीकै ‘गुन’ तिर्न अदालत आएको बताएका हुन्।

आइतबार एक टेलिभिजन अन्तर्वार्तामा ओलीले आफूले रवि लामिछानेलाई गुन लगाएको तर त्यसको सट्टा उनले दुश्मनी गरेको आरोप लगाएका थिए। सोही अभिव्यक्तिलाई लक्षित गर्दै लामिछानेले अदालत परिसरमा सञ्चारकर्मीसँग भने, “केपी ओलीजीले गुन लगाएको भन्नुभएको छ। खुब गुन लगाउनुभएको छ। उहाँले लगाएको गुन तिर्न नै आज यहाँ आएको हुँ।”

लामिछानेले ओलीकै कारण आफूलाई सातवटा जिल्ला अदालतमा एक हप्ताभित्रै तारिख बुझ्नुपर्ने अवस्था सिर्जना भएको दाबी गरे। मुद्दै–मुद्दाले थिचिएको अवस्थालाई संकेत गर्दै उनले भने, “यी मुद्दाका कारण जिउमा ठाउँ–ठाउँमा किला ठोकेको जस्तै महसुस भइरहेको छ।”

उनले आफूलाई राजनीतिक प्रतिशोधको सिकार बनाइएको आरोप लगाउँदै कानुनी प्रक्रियाको सम्मान गर्दै अदालतमा उपस्थित भएको बताए। लामिछानेको भनाइमा ओलीले लगाएको ‘गुन’ नै अहिले आफूले भोगिरहेको कानुनी र मानसिक दबाबको कारण बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *