सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफू आजको दिनसम्म कुनै पनि पार्टीमा प्रवेश नगरेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवारी दिने चर्चा भइरहेका बेला उनले आफूले अहिलेसम्म सो विषयमा निर्णय नलिएको स्पष्टीकरण दिएका हुन् ।
बुधबार नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री खरेलले आफू र वर्तमान सरकारको सम्पूर्ण ध्यान चुनावमा रहेको पनि बताए ।
‘म यहाँहरुलाई आज स्पष्ट पार्न चाहन्छु–मैले अहिलेसम्म चुनावमा उठने वा नउठने भन्ने केही पनि निर्णय गरेको छैन । दोस्रो कुरा यहाँहरुलाई म स्पष्ट पार्न चाहन्छु–म आजको दिनसम्म कुनै पनि पार्टीमा प्रवेश गरेको छैन, गएको छैन । वार्ता वा छलफल गरेको छैन,’ उनले भने, ‘आउँछु पनि भनेको छैन । जान्छु भनेको छैन । मैले केही पनि भनेको छैन । र, मेरो अहिले सम्पूर्ण ध्यान यो अन्तरिम सरकारको सम्माननीय प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको ध्यान चुनाव गराउन रहेको छ ।’

