राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रुकेश रंजितले आगामी आर्थिक वर्षको बजेटमा भक्तपुरको दुवाकोटमा प्रस्तावित वीर अस्पतालको डीपीआर तयार गर्ने प्रक्रिया तत्काल अघि बढाउन प्रधानमन्त्री बालेन साहसमक्ष माग गरेका छन्।
केही दिनअघि सिंहदरबारमा भएको भेटघाटमा सांसद रंजितले भक्तपुरलाई आफूले स्वास्थ्य हबका रूपमा विकास गर्न लागेको उल्लेख गर्दै उक्त परियोजनालाई आगामी बजेटमार्फत प्राथमिकतामा राख्न प्रधानमन्त्री साहसमक्ष आग्रह गरेका हुन्। यसै विषयमा केन्द्रित रहेर प्रेस सोसाइटीले, “तपाईं निर्वाचित हुनुभएको करिब दुई महिना हुन लाग्यो, आगामी योजना के–के छन्?” भनेर सोधेको थियो।
यसको प्रतिक्रिया स्वरूप उनले भने, “मैले सधैं भन्ने गरेको छु, म विभिन्न सुधारवादी योजनाका साथ ‘भक्तपुर फर्स्ट’ को अवधारणाअनुसार राजनीतिमा प्रवेश गरेको हुँ। म अहिले जिल्लामा स्वास्थ्य पूर्वाधार सुदृढ बनाउन सक्रिय छु। वर्तमान अवस्थामा दुवाकोटमा आधुनिक अस्पताल निर्माण अत्यन्त आवश्यक छ। आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दा उक्त अस्पताललाई समेट्न सरकारको ध्यानाकर्षण गराएको छु। प्रधानमन्त्रीज्यू यसमा सकारात्मक हुनुहुन्छ।”

