भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले संसदमा सुशासनको एजेन्डा स्थापित गर्न नेमकिपाले एक्लै वकालत गरेर मात्र पर्याप्त नहुने बताएका छन्। भक्तपुरमा आयोजित रास्वपा जिल्ला स्तरीय बिस्तारित बैठकलाई सम्बोधन गर्दै उनले सुशासनका पक्षधर शक्तिहरूबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै “घन्टीसँगै मिलेर अघि बढ्दा मात्र देशमा सुशासन सम्भव हुन्छ” भने।
उनले पुराना दलहरूको कार्यशैलीका कारण जनता निराश बनेको र अब नयाँ राजनीतिक संस्कृतिको आवश्यकता रहेको बताए। सुशासन, पारदर्शिता र जवाफदेहिता स्थापित गर्न संसदभित्र र बाहिर एकताबद्ध प्रयास अपरिहार्य रहेको उनको भनाइ थियो।
कार्यक्रम रास्वपा भक्तपुरका सभापति रामेश्वर बस्नेतको सभापतित्वमा सम्पन्न भएको थियो। सो अवसरमा रास्वपा बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईं र सुरज प्रधानले पार्टीका आन्तरिक गतिविधि र भावी योजनाबारे धारणा राखेका थिए। सभापति बस्नेतले जिल्लाको राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
बैठकमा भक्तपुर जिल्लाका चारै नगरपालिकाका सभापतिहरूले आ–आफ्ना नगरको सांगठनिक गतिविधिबारे जानकारी गराएका थिए। भक्तपुर नगरका राजेश शिल्पकार, मध्यपुरका न्हुछे रत्न मानन्धर, चाँगुनारायणका रोशन थापा र सूर्यविनायकका भाइ कृष्ण श्रेष्ठले पार्टी विस्तार र संगठन सुदृढीकरणका प्रयासबारे प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रमको सञ्चालन जिल्ला सचिव रुकेश रञ्जितले गरेका थिए।


