भक्तपुरबाट नवनिर्वाचित सांसदद्वय रुकेश रंजित र राजीब खत्रीले निर्वाचनका बेला जनतासँग गरेका वाचा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सोमबार नेपाल प्रेस सोसाइटीद्वारा आयोजित नयाँ वर्ष २०८३ सालको क्यालेन्डर विमोचन कार्यक्रममा बोल्दै उनीहरूले जनतासँग गरेका प्रतिबद्धता नबिर्सिएको र निर्वाचित भएदेखि नै त्यसको कार्यान्वयनमा जुटेको बताएका हुन्।
सांसद रुकेश रंजितले भक्तपुरमा खानेपानी समस्या प्रमुख चुनौतीका रूपमा रहेको उल्लेख गर्दै समाधानका लागि आफू सक्रिय रूपमा लागिरहेको बताए। “निर्वाचन जितेदेखि नै हामी मैदानमा छौँ। विशेषगरी खानेपानीसम्बन्धी धेरै गुनासा आएका छन्। म सम्बन्धित कार्यालयमै पुगेर समस्या समाधानका लागि पहल गरेको छु, यो समस्या छिट्टै समाधान हुन्छ,” उनले भने।
त्यसैगरी, सांसद राजीब खत्रीले सूर्यविनायक–साँगा सडक खण्ड छिटो सम्पन्न गर्न आफूले निरन्तर खबरदारी गरिरहेको बताए। “हामी छिट्टै उक्त सडक खण्ड निर्माण सम्पन्न गराउन लागिरहेका छौँ। त्यसका लागि छिट्टै स्थलगत निरीक्षण गर्ने तयारी पनि गरेका छौँ,” उनले बताए।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रामेश्वर बस्नेतले शुभकामना मन्तव्य राखेका थिए। नेपाल प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासचिव केशव लुइँटेलले स्वागत मन्तव्य, उपाध्यक्ष दिपेन्द्र राज खत्रीले सञ्चालन तथा कोषाध्यक्ष अरुण महतले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए।

