काठमाडौं, १३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एउटै दलमार्फत प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गर्दै ७ बुँदे सम्झौता गरेका छन् ।

सम्झौताअनुसार रास्वपाको केन्द्रीय नेतृत्व रवि लामिछानेले सम्हाल्नेछन् भने आसन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवारका रूपमा बालेन शाह उभिने सहमति भएको छ । आगामी एक दशकको मुलुकको मार्गचित्र अघि सार्दै लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका लागि संयुक्त रूपमा अघि बढ्ने प्रतिबद्धता उनीहरूले जनाएका छन् ।
बालेन शाह रास्वपाभित्र आबद्ध हुन तयार भएपछि पार्टीको नाम, झण्डा र चुनाव चिन्ह यथावत् राखिने उल्लेख छ । सम्झौतापत्रमा दुवैले पदीय हैसियत उल्लेख नगरी नाम मात्र लेखेर हस्ताक्षर गरेका छन् । सम्झौतापछि बालेन शाह मेयर पदबाट राजीनामा दिएर पार्टी राजनीतिमा सक्रिय हुने सम्भावना देखिएको छ ।
सम्झौतामा भ्रष्टाचार र कुशासनविरुद्ध नवयुवाको आन्दोलनलाई अपनत्व लिने, घाइते र शहीद परिवारको माग सम्बोधन गर्ने तथा १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुक बनाउने लक्ष्य राखिएको छ । साथै, संगठन सुदृढ गर्दै वैकल्पिक राजनीतिक शक्तिहरूलाई एकतामा आउन आह्वान गरिएको छ ।


